ad ad

खेल


‘तर म त नेपाली हो, यो मेडल नेपाललाई हो’

‘तर म त नेपाली हो, यो मेडल नेपाललाई हो’

यज्ञराज जोशी
मंसिर १९, २०७६ बिहिबार १२:२८,

गत बैशाखमा नेपाल नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय प्रतियोगितामा गौरिका सिंहले एउटा नयाँ इतिहास रचेकी थिइन। प्रतियोगितामा पौडीका १२ इभेन्टमा उनले सहभागिता जनाएकी थिइन र बाह्रैमा स्वर्ण जितिन।

त्यसै राष्ट्रिय खेलकुदका आधारमा १३औं दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली टोली निर्माण गरिने भनिएको थियो। त्यसैले गौरिका आठौं खेलकुदमा पुग्दा सागकै पूर्व तयारीका हैसियतले पुगेकी थिइन।

उनको कुरो पनि त्यही थियो। उनले त्यसबेला भनेकी थिइन, ‘यो(आठौं खेलकुद) प्रतियोगितामा म बढीभन्दा बढी स्वर्ण जित्न चाहन्छु। ताकि त्यसले नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्न प्रेरणा मिलास्।’

gaurikaaa d

आठौंमा जितेको त्यही १२ स्वर्णको जगमा टेक्दै बिहीबार गौरिका पौडीको व्यक्तिगत इभेन्टमा नेपाललाई कीर्तिमानी स्वर्ण दिलाइन। यसअघि नेपालले टिम इभेन्टमा एकपटक स्वर्ण जितेपनि त्यसबाहेक भने पौडीमा स्वर्ण दुर्लभै बनिसकेको थियो।

सातदोबाटोस्थित नवनिर्मित वातानुकुलित पौडी पोखरीमा भएको २०० मिटर फ्रिस्टाइल स्पर्धामा उनले स्वर्ण जितेकी हुन्। उनले दुई मिनेट शुन्य पाँच दशमलव शुन्य ६ सेकेण्डमै निर्धारित दूरी पार गरेकी थिइन। दोस्रो स्थानमा रहेकी भारतकी सिंवागी शर्मा दुई मिनेट ०७ दशमलव १९ सेकेण्डले उक्त दूरी पार गर्न सकेकी थिइन।

यो पनि: थोत्रो म्याटको तयारीले स्वर्ण

यसअघि १९९९ मा भएको आठौ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा नेपालका लागि पौडीमा पहिलो स्वर्ण दिलाएका थिए। त्यसको २० वर्षपछि गौरिकाले पौडीमा स्वर्ण दिलाइन। यो अन्तर्राष्ट्रिय सहभागितामा व्यक्तिगत इभेन्टतर्फ नेपालले हात पारेको पहिलो स्वर्ण समेत हो।

 ‘सबैजनाले चियर्स गरेको देख्दा मेरो त सातो उड्यो। ओलम्पिक जस्तो अनुभव भयो,’ स्वर्ण जितेपछि गौरिकाले भनिन्, ‘जहिलेपनि प्रतिस्पर्धामा उत्रिदा गाह्रो नै हुन्छ। तपाईले आफ्नो सक्दो राम्रो मात्रै गर्नसक्ने हो। आज मैले मेरो राम्रो गर्न सकेँ त्यसमा खुशी छु।’

 

पहिलोपटक गौरिकाले नेपालको झण्डा बोकेर स्वर्ण पदक गलामा भिरेकी थिइन। त्यसले उनको खुशीको सीमै थिएन। राष्ट्रिय गान बज्दा उनले आशु थाम्न सकिनन। ती एकातिर हुन त खुशीका आँशु थिए तर उनको मनमा एउटा डर पनि थियो, बेलायतमा आमाबुबासँग बस्दै आएकी उनलाई कयौंले नेपाली नै होइन भन्थे। त्यसले उनलाई चसक्क हुन्थ्यो। मनको कुरा मेडल जितेपछि उनले खोलिन पनि।

 ‘नेपालको झण्डा लगाएर मेडल जित्दा धेरै खुशी लाग्यो। धेरैमान्छे तिमी नेपाली हैन भन्छ। तर म त नेपाली हो यो मेडल नेपाललाई हो। यो मेडल नेपाललाई समर्पित गर्न चाहान्छु।’

लण्डनमा तयारी
मानिशहरुले गौरिकालाई नेपाली हैन् भन्नुको कारण उनी लण्डनमै परिवारसँग बस्छिन। उनका बुबा पारस सिंह र आमा गरिमा राणाले भने गौरिकालाई नेपालबाटै खेलोस भन्ने चाहे। बुबाआमाकै सपना पूरा गर्न गौरिका विभिन्न प्रतियोगितामा आफ्नो पढाई छाडेर सहभागी हुन आउँछिन। देशलाई मेडल दिलाउँछिन। अनि फर्कन्छिन। हरेक पटक उनले नेपाल हुँदा भने विभिन्न व्यक्तिहरुबाट प्रत्यक्ष-अप्रत्यक्ष रुपमा उनी नेपाली हैनन् भन्ने सुनिरहेकी हुुन्छिन।

परिवारसहित लण्डनमा बस्दै आएकी गौरिका यसैहप्तामात्रै नेपाल आइपुगेकी हुन्। गौरिकाका अनुसार उनी लण्डनमा हप्तामा ९ शेसन पौडी पोखरीमा बिताउँछिन। प्रत्येक सेशन दुई घण्टाको हुने गर्छ। वर्षैभरि वातानुकूलित पौडी पोखरीमा गरिएको उच्चस्तरको अभ्यासले उनलाई यस सागमा कीर्तिमानी स्वर्ण जिताउँन सहयोग पुर्याएको हो।

१३ वर्षको उमेरमै २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा सहभागिता जनाएपछि ओलम्पिकमा भाग लिने कान्छी खेलाडीका रुपमा उनको चर्चा भएको थियो। ओलम्पिकसँगै त्यही वर्ष गौरिकाले भारतमा भएको १२ औं सागमा एक रजत र तीन कास्य जितेकी थिइन्। त्यसबेला पनि पौडीको व्यक्तिगत स्पर्धामा रजत दिलाउने उनी नेपालकी एक्ली खेलाडी बनेकी थिइन।

सन् २०१८ को एसियाली खेलकुद, २०१६ मा आयरल्याण्डमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिप, २०१५ मा युएईमा भएको फिना स्विमिङ विश्वकप, रसियामा भएको वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपजस्ता प्रतियोगिताहरुको पनि गौरिकाले अनुभव लिइसकेकी छिन्।

लण्डनमै परिवारसँगै बस्दै प्रशिक्षण गरेपनि नेपालबाट खेल्न पाउँदा सधैँ आफूलाई गर्व महशुस हुने उनले बताइन्। ‘नेपालका लागि खेल्न पाउँदा मलाई गर्व लाग्छ,’ भनिन्, ‘घरेलु समर्थकका माझमा सागमा स्वर्ण जित्ने धोको थियो। त्यो सपना पूरा हुँदा अत्यन्तै खुशी छु।’

गौरिकाको स्वीमिङ करिअर
२०७२ सालमा भएको १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा ६ स्पर्धामा सहभागिता जनाएकी उनले सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेपछि उनको चर्चा ह्वात्तै चुलिएको हो।

सोहीवर्ष रुसमा भएको १६ औं फिना वल्र्ड अक्वाटिक्स च्याम्पियनसिपको दुई स्पर्धामा सहभागिता जनाउँदै उनले दुबैमा राष्ट्रिय कीर्तिमान बनाइएकी थिइन्।

(यो पनि: सावित्रालाई ऐतिहासिक उपलब्धि, बनिन् नेपालकै सर्वाधिक गोलकर्ता )

सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उनले एक रजत र ३ काँस्य पदक जित्दै दक्षिण एसियाली खेलकुदको पौडीमा व्यक्तिगत स्पर्धामा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बनिन्। 

त्यस लगत्तै ब्राजिलमा भएको ३१ औं गीष्मकालीन ओलम्पिकको १ सय मिटर ब्याकस्ट्रोकमा सहभागिता जनाएकी उनी ओलम्पिकका ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी (१३ वर्ष २ सय ५५ दिन) खेलाडीका रुपमा चर्चामा रहिन्।

२०७४ भदौमा भएको २०औं राष्ट्रिय पौडी प्रतियोगितामा ५ स्पर्धामा सहभागिता जनाउँदै सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी उनले अर्को वर्ष भएको १८ औं एसियाली खेलकुदको छनोटका आठ स्पर्धामा सहभागिता जनाउँदै आठवटै स्वर्ण जितेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .