सन् २००० मा एक १३ वर्षीय किशोर ‘सपना र आशा’ बोकेर स्पेनको बार्सिलोनामा आफ्ना पिता जर्ज मेस्सीसँग अवतरण गरे।
त्यस समय, कसैले पनि त्यो सानो ठिटो विश्वकै नामी फुटबलर बन्छ भन्ने कल्पना गरेको थिएन। त्यो ठिटो थिए लियोनल मेस्सी। जसले वर्तमान विश्व फुटबलमा तरंग पैदा गरिदिएको छ।
सोमबार उनै मेस्सीले आफ्नो ३२ औं जन्मदिन मनाइरहेका छन्। यतिबेला उनको नाम नसुन्ने र उच्चारण नगर्ने मानिस संसारमा सायदै भेटिन्छन्।
सन् १९८७ जुन २४ मा जन्मिएका मेस्सी उचाइका हिसाबले निकै साना भएकाले सन् २००० मा उनलाई बार्सिलोनाले अनुबन्ध गर्न आनाकानी गरेको थियो।
उनी झन्डै अर्जेन्टिना फर्किएका थिए। मेस्सीलाई देखेपछि क्लबका अधिकारीहरुको मनमा विभिन्न शंका उपशंकाहरु उब्जिएका थिए। तर, क्लबका प्रशिक्षक, सल्लाहाकार तथा एजेन्ट जोसेफ मिंगुइल्ला र काल्र्स रिक्साचले जब मेस्सीको भिडियो हेरे उनीहरु मेस्सीप्रति मोहित भए।
उनीहरुकै कारण बार्सिलोनाले मेस्सीसँग पहिलो सम्झौता गरेको थियो। उक्त सम्झौता मुख पुछ्ने कागज ‘न्यापकिन’मा भएको थियो। तर मुख पुछ्ने न्यापकिनमा सम्झौता गरेपनि मेस्सीको खेल कौशललाई विश्वले नजरअन्दाज गर्न सकेन।
जब मेस्सी बार्सामा अनुबन्ध भए। बार्सिलोनाले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन। मेस्सीले बार्साको इतिहास परिवर्तन गरिदिए।
मेस्सीले कहिल्यै आत्मविश्वास गुमाएनन्। उनले अघि बढ्ने सपना देखि रहे। उनी महत्वाकांक्षी खेलाडी थिए। सानो उचाइ भएतापनि उनलाई कसैले रोक्न सक्दैन थिए।
उनी ऐतिहासिक क्याडेट टोली टिटो भिलानोभाको प्रशिक्षणमा थिए। जहाँ सेस फेब्रिग्यास तथा जिरार्ड पिकेजस्ता खेलाडी जन्मिए। त्यसपछि फ्रान्क रिजकार्डले १७ वर्षे मेस्सीलाई प्रशिक्षण दिए। उनी सम्झन्छन्, ‘मेस्सी साह्रै अद्भूत थिए।’
युवा मेस्सीले त्यसबेलाका स्टार खेलाडीहरु रोनाल्डिन्हो, डेको तथा स्यामुल इटोसँग खेल्ने मौका पाए। ती स्टार खेलाडीहरुले सँधै मेस्सीलाई विश्वास गरे। उनीहरुले मेस्सी एकदिन विश्व उत्कृष्ट हुने भविष्यवानी गरेका थिए।
रोनाल्डिन्हो यतिबेला भन्छन्, ‘मेस्सीलाई अहिलेको अवस्थामा देख्दा निकै खुशी लाग्छ। उनी मेरा भाइ र असाध्यै मिल्ने साथी थिए।’
राेनाल्डिन्हाे र मेस्सी
मेस्सीले त्यसपछिका दिनमा फुटबलमा पाउनुपर्ने व्यक्तिगत सबै उपलब्धी हासिल गरे। क्लबलाई समेत दर्जनौं उपलब्धि दिलाए।
फुटबलमा पाउनुपर्ने सम्पूर्ण उपाधि पाएपनि मेस्सीले देशका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जिताउन सकेका छैनन्।
अर्जेन्टिनालाई सन् २०१४ मा विश्वकपको फाइनलसम्म पुर्याएपनि उनले उपाधि जिताउन सकेनन्। साथै उनले कोपा अमेरिकामा पनि टोलीलाई ३ पटक फाइनलमा पुर्याएका छन्। त्यसमा पनि अर्जेन्टिना उपविजेतामा सीमित बनेको छ।
यद्यपी मेस्सी एक दशक यताकै उत्कृष्ट फुटबलर हुन भन्नेमा कुनै शंका छैन। यसपटक मेस्सी फेरि अन्तर्राष्ट्रिय उपाधिको सपना लिएर कोपा अमेरिकामा उत्रिएका छन्।
अर्जेन्टिना कोपा अमेरिकाको क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ। बाँकी खेलका नतिजाले उनको अन्तर्राष्ट्रिय उपाधिको निर्धारण हुनेछ।
उपलब्धि
लियोनल मेस्सी पाँच पटकका बालुन डि’ओर विजेता हुन भने किर्तिमानी ६ पटकका गोल्डेन बुट विजेता हुन्।
मेस्सीले बार्सिलोनामा १० वटा ला लिगा, ६ वटा कोपा डेल रे, ४ वटा च्याम्पियन्स लिग, ८ वटा सुपरकोपा डि इस्पानो, ३ वटा यूइएफए सुपरकप तथा ३ फिफा विश्वकप जितेका छन्।
मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन्। उनले देशका लागि ६८ गोल गरेका छन्। मेस्सी बार्सिलोनका समेत सर्वाधिक गोलकर्ता हुन्। बार्सामा उनले ६ सय ३ गोल गरेका छन्।
देशका लागि मेस्सीले सन् २००८ मा ओलम्पिकको स्वर्ण पदक जितेका छन् भने फिफा अन्डर २० विश्वकप जितेका छन्। विश्वकप र कोपा अमेरिका मेस्सीको सपना हुन्।
(एजेन्सीकाे सहयोगमा)
प्रतिक्रिया