नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन्।
पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आइतबार भएको खेलमा गण्डकी प्रदेशले आर्मी माथि २–१ को जित निकाल्दै स्वर्ण जितेको हो।
टिम इभेन्टको पुरुष एकलमा पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे।
एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले।
पुरुष डबल्सतर्फको स्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो।
महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो। सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे।
अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि आर्मीले स्वर्ण जितेको हो।
Shares
प्रतिक्रिया