नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसमा त्रिभुवन आर्मी क्लबले ४ स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ। गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य जितेर ५ पदकसहित दोस्रो स्थानमा रहेको छ। बागमती प्रदेश एक कास्य र चार रजत पदक जितेको छ।
एपीएफले ३ रजत र एक कास्य पदक पाएको छ। नेपाल पुलिस क्ललबे एक रजत र तीन कास्य तथा एनआरएनले एक रजत पदक जितेको छ।
बिहीबार सम्पन्न टेनिसको पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र महिलातर्फ आर्मीका अभिलाषा विष्टले स्वर्ण पदक जिते।
पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको फाइनलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६,६–३ सेटमा पराजित गरे।
महिला एकलतर्फ आर्मीका अभिलाषाले आर्मीकै इरा रावतलाई ६–१,६–६ सेटमा पराजित गरिन्।
पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण, आर्मीका प्रणव र अकि जुवेन रावतको जोडीले रजत जितेको छ। गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते।
महिला युगलविधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाको जोडीले रजत पदक जिते। आर्मीका इशाश्री शाह र सुभाङ्गी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य जितेका छन्।
अमिश्रित युगलको विधामा आर्मीका प्रणव र अभिलाषाको जोडीले स्वर्ण, नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक हात पारे। आर्मीका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कास्य पदक जिते।
टेनिसको टिम इभेन्टमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ आर्मीले स्वर्ण पदक जितेको छ।
Shares
प्रतिक्रिया