क्रिकेट टोली तयार पारेर नतिजा निकाल्न वर्षौँ लाग्छ। झन् सरकारको बलियो साथ नमिल्ने नेपालमा त यो काम कुनै कठिन परीक्षाभन्दा चर्को छ।
यस्तै एउटा कठिन परीक्षा दिन तयार भएको कर्णाली प्रदेश। यो प्रदेशको क्रिकेट भर्खरै बामे सर्दैछ। त्यसमा पनि महिला क्रिकेट टोलीबाट तत्कालै नतिजा अपेक्षा राख्नु अन्याय हुन्छ।
कर्णालीले महिला क्रिकेट खेल्न थालेको धेरै भएको छैन। सात प्रदेशमध्ये दुर्गम र पिछडिएको मानिने कर्णालीले राष्ट्रिय खेलकुदको दसौं संस्करण आयोजनाको मौका पाएको छ।
यस्तो पृष्ठभूमीमा कर्णाली प्रदेश अहिले खेलाडीसँगै विभिन्न खेलटोली तयार गर्न जुटिरहेको देख्न सकिन्छ। त्यसको एउटा उदाहरण महिला क्रिकेट टोलीलाई लिन सकिन्छ।
कर्णाली प्रदेशको महिला टोलीको इतिहास छोटो छ। दुई वर्षअघि दाङको लमहीमा भएको महिला क्रिकेटबाट कर्णालीले राष्ट्रियस्तको क्रिकेट यात्रा सुरु गरेको थियो।
कर्णालीका लागि जितभन्दा ठूलो सफलता टोली तयार पारेर प्रतियोगितामा उतार्नु थियो। पुरुष क्रिकेटमै धेरै विकल्प खोज्न नसकिने कर्णालीमा महिला टोली तयार पार्नु आफैँमा सानो कुरा थिएन।
त्यहाँ मुस्किलले तयार हुने टोलीका महिला खेलाडीले बिहेपछि क्रिकेटलाई निरन्तरता दिने सम्भावना कम छ। त्यसैले पनि टोलीको निरन्तरतामा चुनौती छ।
त्यसका बावजुद कर्णालीले महिला क्रिकेट जोगाइराखेको छ। छोटो यात्रा भएकाले कर्णालीसँग धेरै प्रतियोगिता खेलेको अनुभव छैन। यसै पनि महिला घरेलु क्रिकेट आयोजनाको संख्या न्यून छ।
लक्ष्मी रिमाल कर्णाली प्रदेश महिला क्रिकेट टोलीको पहिलो कप्तान थिइन्। दाङको लमहीमा भएको प्रधानमन्त्री कप (पीएम कप) मा उनकै कप्तानीमा कर्णालीले चुनौती पेश गरेको थियो।
त्यसपछि धनगढीमा भएको पीएम कपमा कर्णालीको कप्तानी गर्ने मौका आयुषा टण्डनले पाएकी थिइन्।
गण्डकी प्रदेशमा सकिएको नवौँ राष्टिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा कर्णाली बिना थापाको नेतृत्वमा उत्रिएको थियो।
तीन फरक प्रतियोगितामा सहभागी कर्णालीले तीन कप्तान दिइसकेको छ। बिना १६ वर्र्षकी मात्रै छिन्। नतिजाबाटा कर्णालीको चर्चा हुन समय लाग्ला। तर, कम उमेरकी बिनालाई कप्तानीको जिम्मेवारी दिएर यसपटक कर्णाली चर्चामा रह्यो।
सानै उमेरमा बिनाले टोलीका सबैलाई समेट्न क्षमता राख्ने टोलीका मुख्य प्रशिक्षक वीरेन्द्र शाही मान्छन्। शाहीले भने, ‘टोलीको आवश्यकतालाई सजिलै बुझ्न सक्ने र निर्णय क्षमताकै कारण हामीले उनलाई कप्तान बनाएका हौँ।’
धनगढीमा भएको पीएम कपमा सहभागी हुने क्रममा शाहीले कर्णालीको टोलीलाई प्रशिक्षण दिने मौका पाएका थिए।
शाहीलाई थाहा छ, उमेर समूहमा राम्रो प्रर्दशन गरे पनि आफ्नो टोलीले सिनियरमा धेरै गर्न बाँकी छ।
यसपटक राष्ट्रिय खेलकुदमा कर्णालीको पहिलो अनुभव हो। तुलानात्मक रुपमा बलिया टोलीसँग कर्णालील जित निकाल्न सकेन। जित्न नसके पनि कर्णाली अनुभव बटुलेर फर्किएको छ। आगामी दिनमा त्यो अनुभवले काम गर्न सक्छ।
खेलको विकासका लागि खेलाडी र प्रशिक्षक मात्रै पर्याप्त हुँदैनन्। त्यसका लागि पूर्वाधार र पर्याप्त लगानी पनि आवश्यक छ। अर्कातिर व्यवस्थापन महत्वपूर्ण हुन्छ।
कर्णाली प्रदेशमा क्रिकेट मैदानकै अभाव छ। सबै पूर्वाधार हुँदा त खेलाडी तयार पार्न कठिन हुन्छ। कर्णालीमा त गतिलो क्रिकेट मैदानसमेत नहुँदा खेलाडी उत्पादन झनै चुनौतीपूर्ण हुन्छ।
पूर्वाधारसँगै नियमित प्रशिक्षण र प्रतियोगिता नभएकाले खेलाडी उत्पादन सहज छैन। कम्तीमा दैनिक २ घण्टा अभ्यास गर्न पाए खेलाडी उत्पादन सजिलो हुने प्रशिक्षक शाहीको विश्वास छ।
छोटो समयको प्रशिक्षणमा खेलाडी तयार पार्न असम्भव छ। साधन श्रोत अभावमा पनि खेलाडीले नियमित मिहिनेत गरे नतिजा आउनेमा शाही आशावादी छन्।
नयाँ खेलाडीलाई टिकाउन कठिन हुने कप्तना बिना सुनाउँछिन्। ‘हाम्रो यू १९ को टोली राम्रो थियो। तर सिनियर टोलीमा कमजोर छौँ’, उनले भनिन्, ‘आउने दिन सिनियर र जुनियर खेलाडी मिलाएर अघि बढ्ने योजनामा छौँ।’
टोलीलाई बलियो बनाउन थप मिहिनेत गर्नुपर्ने बिना बताउँछिन्। ‘हामीलाई प्रशिक्षण र प्रतियोगिता आवश्यकता छ’, उनले गुनासो गरिन्, ‘हाम्रोमा खेलाडीको पनि समस्या छ। खेलाडी खोज्न पनि धेरै गाह्रो छ। क्याम्प राखेर खेलाडी खोज्ने हो भने राम्रा खेलाडी आउने सम्भावना रहन्छ।’
लय समात्दै पुरुष टोली
कर्णालीको पुरुष टोलीले विस्तारै सफलताको सिँढी चढ्दै गएको छ। त्यस्तै सफलताका लागि महिला टोलीलाई समय लाग्नेछ। त्यसका लागि प्रशिक्षण मुख्य रहेको प्रशिक्षक शाही बताउँछन्।
‘लामो समय प्रशिक्षण गर्न सके हामी पनि नतिजा निकाल्न सक्छौँ’, उनले भने, ‘हामी त्यही लक्ष्यकासाथ अघि बढ्ने प्रयासमा छौँ।’
राष्ट्रिय खेलकुदको १० औँ संस्करण कर्णालीमा आयोजना हुँदा क्रिकेटसहितका भौतिक पूर्वाधार तयार हुने सम्भावना रहन्छ।
त्यसले खेलकुदको माहोल बन्न मद्दत पुग्नेछ। अहिले कर्णालीमा क्रिकेटका लागि फिल्ड निर्माणाधीन छ।
कालिन्चोकमा मैदान बनिहेको छ। कर्णालीको राजधानी सुर्खेतमा पनि मैदान बनाउ सुरु भएको छ। पूर्वाधार निर्माणसँगै क्रिकेटमा लगानी बढाउन सके भविष्यमा कर्णालीले पनि महिला क्रिकेटमा चुनौती दिन सक्ने सम्भावना बढ्दैछ।
Shares
प्रतिक्रिया