ad ad

खेल


मैत्रीपूर्ण फुटबलमा आज पाकिस्तानसँग खेल्दै नेपाल

मैत्रीपूर्ण फुटबलमा आज पाकिस्तानसँग खेल्दै  नेपाल

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ११:४०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीले आज बुधबार पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। 

खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। मैत्रीपूर्ण खेलका लागि नेपालले ५ सय र १ हजार रुपैयाँ टिकट दर छुट्टाएको छ। 
नेपाल र पाकिस्तान सन् २०१८ पछि आमनेसामने हुन लागेका हुन्। 

नेपाली टोली रोहित चन्दको कप्तानीमा मैदान उत्रिनेछ। रोहितले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेका हुन्। 

नेपाली टोलीलाई प्रवेश कटुवालले प्रशिक्षण दिइरहेका छन्। घरेलु लिगमा मछिन्द्र फुटबल क्लबलाई लगातार दुई पटक च्याम्पियन बनाएका प्रवेशका लागि आजको खेल परिक्षाको रुपमा समेत रहेको छ। घरेलु लिगमा सफल प्रशिक्षकको छवि बनाएका कटुवालले राष्ट्रिय टोली हेर्ने आफ्नो सपना पुरा भएको बताएका छन्। 

उनले पाकिस्तानसँगको खेलका लागि खेलाडी छनोट आफैले गरेको कारण नतिजाको जिम्मेवारी पनि आफैले लिने बताएका छन्। घरेलु प्रतियोगिता नहुँदा र छोटो समयको तयारीका बाबजुद सुरुवातमा खेलाडीको फिटनेसमा समस्या देखिएपनि अहिले टोली रहेको प्रशिक्षक कटुवालले बताएका छन्।

नेपालले गत असोज ११ गते बंगलादेशसँग मैत्रीपुर्ण खेल खेले यता पहिलो पटक खेल्न लागेको हो। घरेलु मैदानमा भएको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो। सोही नतिजाको कारण पनि नेपाली टोली उच्च मनोबलमा मैदान उत्रिनेछ। 

घरेलु समर्थकको साथ र अनुभवी खेलाडी नेपाली टोलीको बलियो पक्ष हो। तर नियमीत गोलरक्षक तथा कप्तान किरण चेम्जोङको अभाव आजको खेलमा खड्कीन सक्नेछ। भारतीय आईलिगमा व्यस्त रहेका कारण किरण मैत्रीपूर्ण खेलमा अनुपस्थित हुनेछन्। 

यता लामो समय राष्ट्रिय टोलीमा बिताइसकेका रोहित चन्दले पहिलो पटक टोलीको कप्तानी सम्हाल्दै छन्। रोहितको कप्तानीमा नेपाली टोली उच्च मनोबलमा मैदान उत्रिनेछ।

रोहितले आफुले कहिल्यै पनि कप्तानीको लागि नसोचेको भन्दै कप्तानीभन्दा ठूलो कुरा देशको प्रतिनिधित्व गर्न पाउनु रहेको बताएका छन्। टोलीका सबै खेलाडी कप्तान रहेको सुनाउँदै रोहितले भने, ‘खेलमा नतिजा जे पनि आउन सक्छ तर हामी राम्रो खेल प्रदर्शन गर्नेछौँ।’

उता फिफाको प्रतिबन्धका कारण लामो समय फुटबलबाट टाढा रहेको पाकिस्तान नेपालसँगको खेलबाटै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ। नेपालसँगको खेलबाट नै टोली अन्तर्राष्ट्रिय खेलमा फर्कनका लागि तयार रहेको नरहेको थाहा हुने पाकिस्तानका प्रशिक्षक सहजाद अनवारले बताएका छन्। 

पाकिस्तान नेपाललाई घरेलु भुमिमा नै पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ। लामो समय पाकिस्तान पाकिस्तानी टोली पछिल्लो समय खराब समयबाट गुज्रीरहेपनि राम्रो सुरुवात गर्ने योजनामा रहेको बताएका छन्। 

फिफा प्रतिबन्धका कारण पाकिस्तानले अन्तराष्ट्रिय खेल खेल्न नपाए पनि खेलाडीहरु विदेशी लिग र अन्य प्रतियोगितामा व्यस्त रहेकाले राम्रो खेल पस्कने योजनामा छ। 

हेड टु हेट 
नेपाल र पाकिस्तानबीच अहिलेसम्म १६ खेल भएको छ। तीमध्ये ६ खेल बराबरीमा सकिँदा नेपाल र पाकिस्तान दुवै टोलीले समान ५ खेलमा जित निकालेका छन्। 

नेपाल र पाकिस्तान पछिल्लो पटक सन् २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पिनयसिपमा भेट भएको थियो। सो खेल नेपालले २–१ ले गुमाएको थियो। त्यसयता यी दुई टोलीबीच भेट भएको छैन। 

त्यसअघि सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले १–१ गोलको बराबरी खेलेका थिए। 

२०१३ को फेब्रुअरीमा मै भएको मैत्रीपुर्ण खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो। त्यसअघिको साफ च्याम्पियनसिपमा २०१३ कै डिसेम्बरमा भएको अर्को मैत्रीपूर्ण खेलमा नेपाल १–० ले नै पराजित भएको थियो। 

२०११ को साफ च्याम्पियनसिपमा यी दुई टोलीले एक एक गोलको बराबरी खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .