काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ।
नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल गर्दै जित निकालेको हो।
पहिलो हाफ गोलरहित भएको अवस्थामा नेपालका लागि खेलको ८२ औँ मिनेटमा अन्जन विष्टले गोल गरेर जित दिलाउन सफल भए।
रोहित चन्दको कप्तानीमा उत्रिएको नेपाली टोलीले यो जित निकालेपछि प्रशिक्ष प्रवेश कटुवालको सुरुवात पनि राम्रो भएकोछ।
उता रोहितले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्दै टिमलाई जिताउन सफल भएका हुन्।
घरेलु लिगमा मछिन्द्र फुटबल क्लबलाई लगातार दुई पटक च्याम्पियन बनाएका प्रवेशका लागि यो खेल परीक्षा थियो। जसमा उनी सफल पनि भए।
घरेलु लिगमा सफल प्रशिक्षकको छवि बनाएका कटुवालले राष्ट्रिय टोली हेर्ने आफ्नो सपना पूरा भएको बताएका थिए।
उनले पाकिस्तानसँगको खेलका लागि खेलाडी आफैँले छानेकाले नतिजाको जिम्मेवारी पनि आफैँले लिने बताएका थिए।
नेपालले गत असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। घरेलु मैदानमा भएको खेलमा नेपालले त्यसबेला पनि बंगलादेशलाई पराजित गरेको थियो।
Shares
प्रतिक्रिया