इन्ज्युरी समयमा विमल घर्ती मगरले गोल गरेपछि साविक विजेता मछिन्द्र फुटबल क्लब हारबाट जोगिएको छ।
शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार भएको छैटौं चरणको खेलमा मछिन्द्रले हिमालयन शेर्पासँग एक-एक गोलको बराबरी गर्दै अंक खोस्न सफल भएको हो।
निर्धारित समयमा एक गोलले पछि परेको मछिन्द्रका लागि फरवार्ड विमलले गोल गर्दै मछिन्द्रको हार टारेका हुन्।
छिरिङ गुरुङको क्रसमा शेर्पाका डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा विमलले रिबाउन्ड बललाई जाली चुमाएका थिए।
खेलको ८५ औँ मिनेटमा शेर्पाका सत्यम शर्माले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङको ह्याण्ड भएपछि रेफ्रीले शेर्पालाई पेनाल्टीको अवसर दिएका थिए।
शेर्पासँगको खेलबाट भुटानी राष्ट्रिय टोलीका कप्तान चेन्चो ग्लोल्जेनले नेपाली लिगमा डेब्यु गरे।
बराबरीसँगै मछिन्द्र र शेर्पा दुवैले ६ अंक जोडेका छन्। बराबरीले मछिन्द्र १० र शेर्पा नवौँ स्थानमा छन्।
बिहीबारै च्यासल मैदानमा भएको खेलमा थ्रीस्टार क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ।
थ्री स्टारका लागि खेलको १७ औँ मिनेटमा मार्टिन अजायीले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै थ्रीस्टार १० अंकमा तालिकाको छैटौ स्थानमा छ। पराजित आर्मी आठौँ स्थानमा छ।
Shares
प्रतिक्रिया