ad ad

खेल


उपाधि होडमा फर्किएको आर्मी

उपाधि होडमा फर्किएको आर्मी

लक्ष्मी जि.सी
पुस २४, २०७६ बिहिबार १३:३५,

मंसिर अन्तिम साता सहिद स्मारक ए डिभिजन शुरु हुनु एक दिन अघि भएको प्रि–म्याच कन्फ्रेन्समा विभागीय टोली त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले भनेका थिए, ‘हामी उपाधि दाबेदार टोली हौं। त्यही अनुसार खेल्नेछौं।’

तर, लिगका सुरुआती चार चरण सकिँदा आर्मी अंक तालिकामा शीर्ष दुईभन्दा तलै थियो। पहिलो र दोस्रो चरणमा लगातार तेस्रो स्थानमा रहेको आर्मी तेस्रो चरणमा आइपुग्दा चौथो स्थान झर्यो। चौथो चरणमा पुनरागमन गर्दै तेस्रो स्थानमा उक्लिएको आर्मी पाँचौं चरणमा भने उपाधि होडमा अग्रसर देखिएको छ।

उसले बिहीबार भएको खेलमा सरस्वती युथ क्लवलाई १–० ले हराउँदै लगातार चार चरणमा शिर्षमा रहेको मनाङ मस्र्याङ क्लबको वर्चस्व तोड्यो।

प्रशिक्षक न्यौपाने टोली शीर्षमा आएसँगै आफूहरु उपाधि होडमा फर्किएको मान्छन्। खेलपछि उनले भने, ‘उपाधि होडमा फर्कनका लागि हामीलाई ३ अंक आवश्यक थियो। त्यही अनुरुप खेल्दै शीर्ष स्थानमा आएका छौं। यो लयलाई कायम राख्नु अबको चुनौती हुनेछ।’

आर्मीको लिगमा १२ अंक छ। मनाङलाई एक अंकले पछि पार्दै आर्मी शिर्षमा उक्लिएको हो। ५ खेल खेलिसक्दा आर्मीले एक टोलीसँग मात्र हार भोगेको छ। त्यही एक टिम हो, साविकको विजेता मनाङ। मनाङको लक्ष्यसमेत उपाधि रक्षा गर्ने हो।

लिगको दोस्रो चरणमा आर्मीलाई १–० ले पराजित गरेको मनाङ आफ्ना लागि मुख्य चुनौती भएको प्रशिक्षक न्यौपाने स्वीकार्छन। उनले भने, ‘मनाङ साविकको विजेता टोली पनि हो। राम्रो लयमा पनि छ। अबका खेलहरु प्रतिस्पर्धात्मक हुनेछन् तर हामी लयलाई कायम राख्दै अंक जोड्ने प्रयासमा हुनेछौं।’

आर्मीका नतिजाहरु
पहिलो खेल– फ्रेण्ड्समाथि २–१ को जित
दोस्रो खेल– मनाङसँग १–० को हार
तेस्रो खेल– हिमालय शेपामाथि २–० को जित
चौथो खेल– थ्रीस्टारमाथि २–० को जित
पाँचौ खेल– सरस्वती युथ क्लबमाथि १–० को जित

 चार क्लबबीच तीव्र प्रतिस्पर्धा
आर्मीले शीर्षस्थानमा उक्लिएसँगै ए डिभिजन लिगको उपाधि होडमा चार क्लबबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। आर्मी(१२), मनाङ(११), मछिन्द्र(१०), थ्रीस्टार(१०)बीच उपाधिका लागि तीव्र प्रतिस्पर्धा देखिएको हो।

पाँचौ चरणसम्म आइपुग्दा मनाङ, मछिन्द्र र जावलाखेल युथ क्लब अपराजित छन्। महत्वपूर्ण ८ खेलाडीले छाडेर गएपछि कमजोर आँकिएको मनाङले सशक्त प्रदर्शन गरिरहेको छ। पाँचौ चरणमै मनाङले उसका ८ खेलाडी लगेको हेभिवेट मछिन्द्रसँग प्रतिस्पर्धा गरेको थियो। जसमा मछिन्द्रलाई उसले २–२ को बराबरीमा रोक्दै अंक खोस्यो।

jorge princeसरस्वतीविरुद्ध गोल गरेपछि आर्मीका जर्जप्रिन्स कार्की

यो सिजन मछिन्द्र नयाँ शक्तीको रुपमा उदाउनुको कारण मनाङकै मुख्य ८ खेलाडी टोलीसँग आवद्ध गर्नुहो। त्यसबाहेक थ्रीस्टारका ३ खेलाडीहरुलाई अनुबन्ध गरेपछि यस सिजनमा सबैभन्दा बलियो टोली मछिन्द्रलाई मानिदैँ आएको थियो। तर, मछिन्द्र अहिलेसम्म शिर्षमा पुग्न सकेको छैन।

यसैबीच थ्रीस्टारले आफ्नो संयमित प्रदर्शनलाई निरन्तरता दिएको छ। ५ खेलमा उसले ३ मा जित, एकमा हार र एकमा बराबरीको प्रदर्शन गरेको छ। थ्रीस्टार आर्मीबाहेक अन्यसँग हारेको थिएन।

अंक तालिकाको पुछारमा रहेको सरस्वती भने रेलिगेशनमा पर्ने खतरामा छ। हालसम्मका सबै खेलमा पराजित सरस्वती मात्र जारी लिगमा अंक विहिन छ। सरस्वती एनआरटीसँग ४–०, जावलाखेलसँग १–०, पुलिससँग २–० तथा एपीएफसँग २–१ ले पराजित भएको थियो।

जावलाखेल युथ क्लव ९ अंकमा पाँचौ, नेपाल पुलिस क्लव ८ अंकमा छैटौं, संकटा क्लव ७ अंकमा सातौं स्थानमा रहँदा ब्रिगेड ब्वाईज ६ अंकमा आठांै स्थानमा छन्। नवौं स्थानको न्युरोड टिम एनआरटीको ५ अंक छ। एनआरटीले पनि गतवर्षको २ अंक तिरेको छ।

समान ५ अंक भएको च्यासल युथ क्लव दशौं स्थानमा छ। विभागीय नेपाल पुलिस क्लव ४ अंकमा ११, हिमालयन शेर्पा क्लव ३ अंकमा १२ र २ अंकमा फ्रेण्ड्स १३ औं स्थानमा छ।

सन्तोष सर्वाधिक स्कोरर
लिगको पाँचौ चरणसम्म आइपुग्दा च्यासल युथ क्लवका कप्तान सन्तोष साहुखल सर्वाधिक गोलकर्ताको शिर्ष स्थानमा छन्। ५ गोल गरेका साहुखलको नाममा ए डिभिजन लिगमा एक सयौं गोल गर्नेको किर्तिमान पनि छ। बुधबार नेपाल पुलिसविरुद्धको खेलमा २ गोल गरेका सन्तोषले १ सय गोल पुरा गर्दै कोशेढुङगा पार गरेका हुन्।

लिगको पाँचौ चरणसम्मका ३५ खेल सकिँदा ३८ वटा पँहेलो कार्ड र ८ वटा रातो कार्ड प्रयोग भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .