आईसीसी विश्वकप छनोट तयारीका क्रममा सहभागी सबै देशले टेस्ट राष्ट्रसँग अभ्यास खेल्न पाउँदा नेपाललाई मात्र वञ्चित गराइएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पत्र लेखेको छ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले यसबारे आईसीसीलाई पत्राचार गरिएको बताएका छन्।
उनले भने, ‘हामीलाई देख्दाखेरि पनि नराम्रो लागेको छ, सबैलाई बराबर भएन, सबैले कम्तीमा एउटा टेस्ट राष्ट्रसँग खेल्न पाउँदा हामीले मात्र किन नपाउने? हामीलाई पनि एउटा टेस्ट राष्ट्रसँग खेल्न दिनुपर्यो भन्ने हो। सकिन्छ भने पुनरवलोकन गर्नपर्यो भन्ने हो। यसबारेमा अहिलेसम केही जवाफ आएको छैन।’
आईसीसीले विश्वकप छनोटअघि नेपालले यूएई र ओमानसँग अभ्यास खेल खेल्ने तालिका बनाएको छ। विश्वकप छनोटअघि टेस्ट राष्ट्रसँग अभ्यास खेल्न नपाउने देश नेपाल मात्र हो।
आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले जेठ ३० गते यूएईसँग र ३२ गते ओमानसँग अभ्यास खेल खेल्ने छ।
नेपालले छनोटको पहिलो खेल घरेलु टोली जिम्बावेसँग असार १३ गते खेल्नेछ। असार ५ गते अमेरिकासँग र ७ गते वेस्टइन्डिजसँग खेल्ने तालिका छ।
असार ९ गते नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।
छनोट चरणको शीर्ष ३ मा रहन सके नेपालले सुपर सिक्सको यात्रा तय गर्नेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन टिम हुनेछन्। सुपर सिक्समा सबैले एकअर्काविरुद्ध खेलेर शीर्ष दुई टोली यही वर्ष अक्टोबर र नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्ने छन्। सुपर सिक्समा नपुगे प्लेअफ खेल्नेछ।
विश्वकप छनोटको समूह एमा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्। समूह बीमा आयरल्यान्ड, श्रीलंका, यूएई र स्कटल्यान्ड छन्।
छनोटको फाइनल खेल असार २४ गते हुनेछ। विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ।
छनोटअघि नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने तालिका छ।
Shares
प्रतिक्रिया