इङ्लिस प्रिमियर लिगको जारी सिजनबाट पूर्व च्याम्पियन लेस्टर सिटी रेलिगेसनमा परेको छ। रेलिगेसन जोनमै रहेको एभर्टनले एएफी ब्रोउनमाउथलाई पराजित गरेसँगै लेस्टर रेलिगेसनमा परेको हो।
लेस्टरसँगै लिड्स युनाइटेड पनि रेलिगेसनमा परेको छ। लेस्टरले लिगको ३८ औँ चरणको खेलमा जित निकाले पनि एभर्टनले नतिजा आफ्नो पक्षमा पारेपछि प्रिमियर लिग च्याम्पियन लेस्टर रेलिगेसनमा परेको हो।
लेस्टरले सन् २०१५/१६ को सिजनमा अप्रत्यासित नतिजासहित प्रिमियर लिगको उपाधि उचालेको थियो। लेस्टरले गएराति घरेलु किङ पावर स्टेडियममा भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई २-१ गोलले हराएको थियो।
लेस्टरलाई जिताउन हार्भे बार्नेस र वोउट फाइसले गोल गरेका थिए। पराजित वेस्ट ह्याम युनाइटेडका लागि पाब्लो फोर्नाल्सले सान्तवना गोल फर्काए।
अन्तिम खेलमा जित निकाले पनि लेस्टरले ३८ खेलबाट ३४ अंक मात्रै जोड्दै घटुवा भयो। ऊ समग्रमा १८औं स्थानमा रहेर दोस्रो डिभिजनको च्याम्पियन्स टोली बनेको हो।
त्यसैगरी सन् २०२० मा प्रिमियर लिगमा आएको लिड्स युनाइटेड पनि घटुवा भएको छ। घरेलु मैदानमा टोटनहम हटस्परलाई ४–१ को नतिजा सुम्पिँदै लिड्स रेलिगेसनमा परेको हो। लिड्सले ३७ खेलबाट ३१ अंकमात्रै जोडेर १९ औँ स्थानमा रह्यो।
गएरातिकै खेलमा लिभरपुलसँग ४-४ गोलको बराबरी खेलेको साउथह्याम्पटन यसअघि नै रेलिगेसनमा परिसकेको छ।
लेस्टर र लिड्स रेलिगेसनमा परेका दिन यो सिजनको च्याम्पियन म्यानचेस्टर सिटी भने पराजित भएको छ। सिटीलाई ब्रेन्टफर्डले १–० ले हराएको हो।
अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको सिटीविरुद्ध ब्रेन्टफर्डका इथान पिननकले खेलको ८५ औँ मिनेटमा निर्णायक गोल गरे।
यो सिजन सिटीविरुद्धका दुवै खेलमा ब्रेन्टफर्ड विजयी भयो यसअघि सिटीको मैदानमा पनि उसले २–१ को जित दर्ता गरेको थियो।
अन्तिम खेलको जितपछि ब्रेन्टफर्ड ३८ खेलबाट ५९ अंकसहित लिगको नवौँ स्थानमा रह्यो। सिटीले ३८ खेलबाट ८९ अंकसहित उपाधि चुमिसकेको छ।
Shares
प्रतिक्रिया