ad ad

खेल


एकमहिनापछि लाग्यो टिम इभेन्ट्समा पाउने पुरस्कार राशीको टुंगो

एकमहिनापछि लाग्यो टिम इभेन्ट्समा पाउने पुरस्कार राशीको टुंगो

लक्ष्मी जि.सी
पुस २८, २०७६ सोमबार १३:२७,

घरेलु मैदानमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक महिनापछि टिम इभेन्ट्समा पदक जितेका खेलाडीले पाउने पुरस्कार रकमको टुंगो लागेको छ।

साग सम्पन्न भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई सम्बोधन गर्दै पुरस्कारको घोषणा गरेका थिए। उत्साहित हुँदै बालुवाटार पुगेका खेलाडीमध्ये कतिपय भने फर्कदा अरु साथीहरु जस्तै उत्साहित हुन पाएनन्। टिम इभेन्ट्सको पुरस्कारबारे प्रष्ट नभएका कारण खेलाडीहरु प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिँदा निराशा व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले स्वर्णपदक विजेतालाई ९ लाख, रजत विजेतालाई ६ र कास्यपदक विजेतालाई ३ लाख रुपैयाँ दिने तथा टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए। तर, टिम इभेन्ट्समा रजत र कास्य जित्ने खेलाडीका लागि भने कुनै घोषणा नगरेका ओलीले ‘साना तिना कुरा पछि मिलाउँदै गरौंला’ भनेपछि खेलाडीहरु दुखी बनेका थिए।

स्पेशल प्याकेज घोषणाका दौरान प्रधानमन्त्री ओलीले २ भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई हरेक स्वर्ण वापत ११ लाख दिने घोषणा गरेका थिए। त्यस हिसाबले गौरिका सिंहले ४ स्वर्ण वापत ४४ लाख र २ रजत पदकको १२ लाख गरि ५६ लाख रुपैयाँ पाउनुपर्ने हुन्छ। त्यसबाहेक पौडीको टिम इभेन्टमा पनि उनले ३ वटा कास्य पदक जितेकी थिइन्। टिम इभेन्ट्सको प्रधामन्त्रीले सर्वाजनिक घोषणा नगरेकोले यहाँ त्यसको हिसाब गरिएको छैन।

तर, प्रधानमन्त्री ओलीको घोषणालाई लिएर खेलकुद मन्त्री देखि राखेप सदस्य सचिवमा पनि अलमल देखिएको छ। खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव रमेशकुमार सिलवालले गौरिका वा २ स्वर्ण भन्दा बढी जित्नेले ११ लाख रुपैयाँ मात्र पाउने बताएका थिए। यद्दपी मन्त्री वा सदस्य सचिवले त्यस विषयमा पछि प्रष्ट भने पारेका छैनन्।

pm with playersपुरस्कार घाेषणा कार्यक्रममा प्रधानमन्त्रीसँग खेलाडीहरू। तस्बिर : प्रविन काेइराला

प्रधानमन्त्रीको अपुरो घोषणाले अलमलमा परेका खेलाडीको अन्यौलता एकमहिनापछि राष्ट्रिय खेलकुद परिषद्ले हटाएको छ। प्रधामन्त्रीले त्यो दिन घोषणा गरेपछि कार्यविधि बनाएर खेलाडीलाई पुरस्कार दिने तयारी भइसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।

योसँगै टिम इभेन्ट्सको रजत र कास्य विजेताले पाउने पुरस्कारको सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यसबेला कायम गरेको अन्यौलतालाई हटाउँदै घोषणा गरेभन्दा बढी रकम पुरस्कार दिने तयारी भइरहेको राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले नेपालखबरलाई बताए।

उनका अनुसार टिम इभेन्टतर्फ स्वर्ण जित्ने टोलीका सदस्यलाई जनही ६ लाख दिइनेछ। यसअघि प्रधानमन्त्रीले ५ लाख दिने घोषणा गरेका थिए। राखेपले त्यसमा एक लाख थप गर्न लागेको तिम्सिनाले जनाए। रजतलाई ४ लाख र कास्य पदक विजेतालाई लाई जनही २ लाख रुपैयाँ दिने प्रस्ताव भएको उनले बताए।

‘हाम्रो प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृती दिइसकेको छ। अब मन्त्रिपरिषद्बाट पारित हुन मात्र बाँकी छ,’ उपाध्यक्ष तिम्सिनाले भने, ‘सम्भवतः अर्को सातासम्म यो पारित हुन्छ। त्यसपछि हामी पुरस्कार दिने तयारीमा लाग्नेछौं।’

१३औं सागमा नेपालले पुरुष फुटबल, करातेको पुरुष–महिला काता टोली तथा गल्फ टोलीले स्वर्ण जितेको थियो।

राखेपको प्रस्ताव पारित भएमा रजत जितेका १३ खेलका टोलीले जनही ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। नेपालले महिला फुटबल, महिला भलिबल, महिला बास्केटबल, पुरुष टेबल टेनिस, आर्चरीको मिक्स टिम, थ्री बाइ थ्री पुरुष बास्केटबल, महिला खोखो, महिला ह्याण्डबल, महिला कबड्डी, ट्रयाथोलन, फेन्सिङको वुमन टिम सेवर, वुमन टिम फोयल, वुमन टिम इपी, आर्चरीको मिक्स टिममा रजत पदक जितेको थियो।

व्यक्तिगत र टिम इभेन्टमा पुरस्कार राशी फरक गरिएकोमा टिम इभेन्टका खेलाडीले प्रधानमन्त्री निवास बालुवाटारमै गुनासो गरेका थिए। पुरुष बास्केटबल टोलीका कप्तान सदिश श्रेष्ठले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रश्न गर्दै व्यक्तिगत र टिम इभेन्टको पदकको महत्व छुट्टाउन भनेका थिए।

उनीलगायत बास्केटबल टोलीले एकल वा समूहगत दुवै खाले पदक विजेतालाई समान व्यवहार गरिनुपर्ने माग राखेका थिए।

एकै खाले पदकमा खेलाडीले पाउने पुरस्कार राशीमा किन विभेद भन्ने प्रश्नमा तिम्सिनाले भने, ‘टिम ईभेन्टका लागि अन्य प्रतियोगिता हुने भएका कारण त्यसबाट पनि खेलाडीले आम्दानी गरिरहेका हुन्छन्। तर मार्सलआर्ट जस्ता व्यक्तिगत इभेन्टका खेलाडीले साग नै कुर्नुपर्ने हुन्छ त्यसैले यसलाई विभेद भन्न मिल्दैन।’

१३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो। नेपालले यस सागमा इतिहासकै सर्वाधिक ५१ स्वर्णपदकसहित २०७ पदक जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .