चीनमा आयोजना हुने १९ औं एसियाडको तयारी लागि नेपालका गल्फ खेलाडीले भारतको बैंग्लोरमा प्रशिक्षण गर्ने भएका छन्।
चीनको हाङ्झाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि एसियाड सुरु हुँदैछ। नेपालका चार पुरुष सुवास तामाङ, सद्भाव आचार्य, शुक्रबहादुर राई र युवराज भुजेल तथा दुई महिला काश्मिरा शाह र सुश्मा सिग्देलले उक्त एसियाडमा प्रतिस्पर्धा गर्दैछन्।
नेपाली खेलाडीले बैंग्लोरको कोलारस्थित तरुण सार्देसाई गल्फ एकेडेमीमा बन्द प्रशिक्षण गर्ने नेपाल गल्फ संघका अध्यक्ष टासी घलले जानकारी दिए।
संघले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै ६ खेलाडी र एक प्रशिक्षकसहितको टोलीलाई बिदाइ गरकेो छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई बिदाइ गरे।
पुरुषमा १३ औं दक्षिण एशियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवाससहित सद्भाव र युवराज तथा कश्मिरा र सुश्माले आईतवारदेखि एसियाडको तयारी थाल्नेछन्।
शुक्रबहादुर भने हाल जर्मनीको ब्रेस्डेनमा प्रशिक्षण गरिरहेका छन्। उनी भने एक महिनापछि बंैग्लोरको प्रशिक्षणमा सहभागी हुने संघले जनाएको छ।
उक्त बन्द प्रशिक्षणका लागि नेपाल शनिवार बैंग्लोर प्रस्थान गर्ने संघले जानकारी दिएको छ। उनीहरूले आगामी सेप्टेम्बर २० सम्म एकेडेमीमा प्रशिक्षण गर्ने कार्यक्रम छ। बन्द प्रशिक्षणमा फिटनेस परीक्षण र हरेक हप्ता प्रतियोगिता पनि हुने प्रशिक्षक दीपक आचार्यले जानकारी दिए।
यही बन्द प्रशिक्षणकै दौरान सुवास र सद्भावले सिंगापुरमा आगामी जुलाई १५ देखि १९ सम्म आयोजना हुने सिंगापुर एमेच्योर ओपनमा पनि प्रतिष्पर्धा गर्ने योजना रहेको संघले जनाएको छ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडलाई नै केन्द्रित गरेर राखेपले गल्फ खेलाडीमा लगानी गर्दै आइरहेको उल्लेख गर्दै यो खेलबाट पनि पदकको आशा गरिएको बताए।
Shares
प्रतिक्रिया