ad ad

खेल


भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित

भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १९:९, काठमाडौँ

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पराजय भोगेको छ।

बलियो प्रतिद्वन्द्वी भारत ‘ए’सँग नेपाल ९ विकेटको हार व्यहोर्न बाध्य भएको थियो। यसअघि नेपालले पाकिस्तासँग पनि ४ विकेटको हार भोगेको थियो।

निराशाजनक प्रदर्शन गरेको नेपालको १६७ रनको स्कोर भारतले २२ ओभर १ बलमा १ विकेटको क्षतिमा भेट्टाएको हो। 

भारतको जित सजिलै पक्का गर्ने क्रममा ओपनर अभिषेक शर्माले ६९ बलमा ८७ रन बनाए। उनलाई रोहित पौडेलले कुशल मल्लको हातबाट क्याच गराएका थिए। 

त्यस्तै भारतका लागि नटआउट रहेका अर्का ओपनर साई सुद्धर्शनले ५२ बलमा ५८ रन बनाए। नटआउट रहेका तेस्रो क्रममा ध्रुब जुरेलले पनि १२ बलमा २१ रन जोडे।

यसअघि नेपालले ३९.२ ओभर ब्याटिङ गर्दा अलआउट भएर १६७ रन बनाउन सकेको थियो।

ओपनरहरु फ्लप सावित खेलमा चौथोक्रममा आएका कप्तान रोहित पौडेलले सोमपाल कामी र गुलशन झासँग मिलेर नेपालको स्कोर उठाएका थिए।

उनले ८५ बलमा ६५ रनको अर्धशतकीय पारी खेल्ने क्रममा ७ चौका पनि हानेका थिए।

रोहितपछाडि नेपालका लागि ३० बलमा ३८ रनको पारी खेले। उनले २ चौका र २ छक्का पनि हानेका थिए। 

त्यसैगरी देव खनालले १५ र सोमपाल कामीले १४ रनको योगदान दिए। अन्य नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो। 

टेस्ट मान्यता प्राप्त छिमेकी राष्ट्रको ‘ए’ टिमविरुद्ध पहिले टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पाकिस्तानविरुद्धकै कमजोरी दोहोर्‍याएको थियो।

भारत ‘ए’विरुद्ध पनि नेपालका ओपनर र टप अर्डरका ब्याटरहरु फ्लप भए। 

नेपाली ओपनर कुशल भुर्तेल केबल २ बलको सामना गर्दै शून्यमै एलबीडब्लु धरापमा परेर पवेलियन फर्किए।

त्यस्तै अर्का ओपनर आशिफ शेख पनि १५ बलमा केबल ७ रन जोड्दै क्याच आउट भए। उनले आफ्नो पारीमा एक चौका हाने।

उता लामो समयपछि सिनियर टिममा अवसर पाउँदै तेस्रो क्रममा ब्याटिङमा उत्रिएका देव खनाल २१ बलमा १५ रन जोड्दा क्याच आउट भए। उनले आफ्नो पारीमा ३ चौका हाने।

पाँचौ क्रमका भीम सार्की पनि आजको खेलमा फ्लप भए। उनी पनि क्रिजमा टिक्न सकेनन्। भारतीय खेलाडीले धारिलो बलिङ गर्दा उनी पनि ८ बल खेल्दै ४ रन जोडेर पबेलियन फर्किए।

अर्कातिर छैटौँ क्रमका कुशल मल्लले खाता नखोली क्याच आउट हुन पुगे। उनले ६ बलको सामना गरेर खाता खोल्नै नपाई आउट भए।

भारतका लागि निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए। त्यस्तै राजाबर्द्धन हंगरकेकरको नाममा ३ विकेट र हर्षित रानाको नाममा २ विकेट रह्यो।

पहिलो प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित नेपालले भारतलाई टक्कर दिने अपेक्षा थियो। तर नेपालको बलिङ र ब्याटिङ दुवै चल्न सकेन। 

उता भारत लगातार दोस्रो जितसहित सेमिफाइनल पुगेको छ। नेपालले अन्तिम चारको यात्रा असम्भव भएपछि अब अन्तिम खेल यूएईविरुद्ध खेल्नेछ।

नेपालले पहिलो खेल ४ विकेटले पाकिस्तान ‘ए’लाई सुम्पिएको थियो। उता भारत ‘ए’ यूएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो। 

घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपको च्याम्पियन नेपाल इमर्जिङ कपमा पुगेको थियो।

भारतपछि नेपालले समूह चरणको अन्तिम खेल बुधबार यूएईविरुद्ध खेल्दैछ।

इमर्जिङ एसिया कप प्रतियोगितामा ६ टिम सहभागी छन्। दुई समूहमा विभाजित टोलीबाट शीर्ष दुईले सेमिफाइनल पक्का गर्नेछन्। 

यो प्रतियोगितामा नेपाल समूह 'बी' मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। 

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुँदै छन्। 

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .