दर्शन गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चौथो जित दर्ता गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले एपीएफलाई ३–२ ले पराजित गरेको हो।
लिगको सातौँ चरणको दोस्रो खेलमा एनआरटी छैठौँ स्थानमा उक्लिएको छ। एनआरटीले हालसम्म ४ मा जित, २ मा हार र १ मा बराबरी गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफले दुईपटक टोलीलाई बराबरीमा ल्याए पनि हार टार्न सकेन।
खेलको २४औँ मिनेटमा एनआरटीका आन्द्रे थेरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ४१औं मिनेटमा एपीएफका आशिष लामाले बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा विदेशी खेलाडी जोर्डन एनडेम्बाको गोलमा पुनः एनआरटीले अग्रता बनाए पनि एपीएफका आशिषले नै गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
८५औँ मिनेटमा दर्शन गुरुङ्गले गोल गरेपछि एनआरटीले जित पक्का गरेको हो। विभागीय एपीएफले भने सातौँ चरणसम्म आइपुग्दा ४ खेलमा हार व्यहोर्दा २ मा बराबरी र एक खेलमा मात्र जित दर्ता गरेको छ। एपीएफ १२औं स्थानमा छ।
लिगमा आजै फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुँदै छ। रेलिगेसनबाट बच्न दुवै टोलीलाई आजको खेल निकै महत्वपुर्ण छ। फ्रेण्ड्स ५ अंकमा तेह्रौँ र सरस्वती १ अंकमा तालिकाको पुछारमा छ।
प्रतिक्रिया