ad ad

खेल


भरतको त्यो शून्य एक घण्टा

भरतको त्यो शून्य एक घण्टा

लक्ष्मी जि.सी
माघ ६, २०७६ सोमबार १२:२६,

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत पुस २९ गते छैटौं चरणको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी र संकटा क्लब दशरथ रंगशालामा भिड्दै थिए।

खेल सकिन १० मिनेट बाँकी रहँदा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब संकटा क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो। अंकतालिकाको शीर्षमा आउँन आर्मीलाई त्यो खेल जिते पुग्थ्यो। त्यही अनुरुप आर्मीका स्टार स्ट्राइकर भरत खवासलाई प्रशिक्षक नवीन न्यौपानले ८०औं मिनेटमा मैदान प्रवेश गराए।

‘मसल्स (मांशपेशी) मा समस्या आएको कारण सुरुवाती ११ मा थिईन। खेल एक–एकको बराबरीमा थियो। खेलमा केही परिवर्तन ल्याउन सक्छु भनेर मैदान प्रवेश गरेको थिएँ,’ उनले भने।

नवयुग श्रेष्ठको स्थानमा मैदानमा प्रवेश गरेलगत्तै लक्ष्मण रुचालले प्रहार गरेको फ्रिकिकमा भरत पर्खाल बन्न गए। भर्खरै मैदान प्रवेश गरेका उनी जुन गतीमा मैदान प्रवेश गरेका थिए, त्यही गतीमा लक्ष्मणले प्रहार गरेको फ्रिकिक उनको अघिल्तिर आइपुग्यो।

बलको गति ठम्याउँनै नपाइसकेका भरतले बललाई हेड त गरे तर उनी अनियन्त्रित भई भुइँमा लडे। भरत त्यही ढलेँ। मैदान एकछिन स्तब्ध भयो। सबैको ध्यान बल लागेर ढलेका भरतमाथि थियो। विपक्षी र आर्मीका खेलाडीहरु तुरुन्तै भरतसामु पुगे। तत्काल भरतलाई प्राथमिक उपचार गरियो। लगत्तै मैदानमा एम्बुलेन्स पनि प्रवेश गराइएपछि धेरैले उनलाई गम्भीर चोट लागेको अनुमान गरे।

तर, भरतको आत्मबलले जित्यो। उनी एम्बुलेन्समा पनि चढेनन्। उनी प्राथमिक उपचारपछि विस्तारै हिड्दै बाहिर निस्के। केहीबेर आराम गरे र बाँकी केही समयका लागि मैदान प्रवेश गरे। तर, त्यो चोटको असर बाँकी नै थियो। त्यसपछि केहि मिनेटका लागि मैदान समेत पसेका भरतलाई त्यसपछिको एक घण्टाको अवधिमा केके भयो केही सम्झना छैन।

bharat khawas ambulanceभरत खवास लडेपछि एम्बुलेन्स खेलमैदान प्रवेश गरे पनि उनी त्यसमा चढेनन्।

‘टाउकोमा बल बजारिएपछिको केही समय मैले मैदानमा त बिताएँ तर त्यहाँ के भइरहेको थियो, त्यसको चाल मैले पाइन,’ भरतले भने। ‘त्यसपछि पनि एक घण्टा के भयो मलाई अहिले पनि केही सम्झना छैन। मेरो दिमाग पुरै रित्तो थियो।’

लक्ष्मणले प्रहार गरेको बल आफूले हेड गर्न खोजेको भने उनलाई याद छ। मैदानबाहिर आउँदा एकचोटी छोरीलाई बोकेको भने उनी सम्झन्छन्। ‘तर त्यसपछि अरु कोसँग बोलेँ कसलाई भेटेँ, केही थाहा छैन। खेलपछि संकटाका लक्ष्मण रुचालसँग पनि भेट भएको थियो तर के कुरा भयो केही याद नै छैन।’

खेल सकिएपछि भरतलाई अस्पताल पुर्याई एमआरआई गरियो। एकघण्टापछि बल्ल भरत सामान्य स्थितिमा फर्किएका थिए। चिकित्सकले आराम गर्न सुझाए। रिपोर्टले पनि सामान्य बताएपछि बल्ल भरत र उनको परिवार ढुक्क भए।

एन्फाको दोस्रो ब्याचका उत्पादन भरतले २०६३ सालमा संकटा क्लबबाट नै ए डिभिजन लिगको यात्रा थालेका हुन्। संकटा, फ्रेण्ड्स पुलिस हुँदै उनी सन् २०१२ बाट निरन्तर आर्मीबाट खेल्दैछन्।

Bharat Khawas 1खेलका क्रममा भरत खवास (बायाँबाट पहिलाे)

टाउकोमा बल लागेको एक हप्तापछि पुनः मैदान उत्रिएका भरतले सोमबार च्यासल युथ क्लबविरुद्धको खेलमा ५८औं मिनेटमा गोल गरे। सो खेल आर्मिले ३–० ले जित्यो। यसपटक लिग जित्ने अभियानमा रहेको आर्मीका लागि कप्तान र सिनियर खेलाडीका हिसाबले आफ्नो महत्व कति छ भन्ने उनले बुझेका छन्। उनको सपना छ– आर्मीलाई लिग च्याम्पियन बनाउने।

उनी भन्छन्, ‘एकपटक आर्मीलाई च्याम्पियन बनाउन पाए मेरो सपना पुरा हुने थियो। यसपटक हामी उपाधिका लागि खेलिरहेका छौं। उपाधि जित्नका लागि हामी हरसम्भव प्रयास गरिरहेका छौं। त्यसका लागि म पनि आफ्नो शतप्रतिशत दिदैँछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .