सन् २०१९ मा घरेलु मैदानमा भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सर्वाधिक २९ पदक जितेको तेक्वान्दो अहिले चिनको हाङझाउमा हुने १९ औं एसियन गेम्सको तयारीमा व्यस्त छ।
एसियाडमा तेक्वान्दोका खेलहरू असोज ७ देखि ११ गते सम्म हुनेछ।
सन् १९८६ देखि एसियन गेम्समा सहभागिता जनाउन थालेको तेक्वान्दोले नै नेपालको साख जोगाउँदै आएको थियो। एसियाडमा नेपालले अहिलेसम्म ल्याएका २४ मध्ये १४ पदक त तेक्वान्दोले मात्र ल्याएको हो।
सन् १९९८ मा बैंककमा भएको एसियन गेम्समा सविता राजभण्डारीले ल्याएको रजत पदक नेपालको सबैभन्दा ठूलो पदक हो। त्यसयता तेक्वान्दोले रजत पदक जित्न सकेको छैन।
एक समय गर्विलो इतिहास बनाएको तेक्वान्दो पछिल्लो १६ वर्षमा आफैं पदकका लागि संघर्ष गरिरहेको छ। यो पटक तेक्वान्दोमा नेपालका ११ खेलाडीले भाग लिँदैछन्। यीमध्ये ७ खेलाडीका लागि एसियाड पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।
एसियाडमा तेक्वान्दोले पुम्से र ग्यारोगी गरी २ विधामा स्पर्धा गर्नेछ। पुम्सेमा महिलातर्फ स्वस्तिका तामाङ र पुरुषतर्फ प्रेम बहादुर लिम्बूले चुनौती दिनेछन्। यी दुई खेलाडी मलेसियामा १५ दिनको प्रशिक्षण गरेर केही समयअघि मात्र स्वदेश फर्किएका हुन्।
३० वर्ष मुनिको पुम्सेमा प्रेमले स्पर्धा गर्नेछन्। उनले भने, ‘१६ वर्ष भएको छ हामीले पदक ल्याउन नसकेको यस्तोमा म आफैले पनि पदक ल्याउँछ भन्ने विश्वास छ। छोटो समयको भएपनि वैदेशिक प्रशिक्षणले सहयोग गरेको छ। एसियाड हाम्रो लागि सहज त पक्कै छैन तर त्यति धेरै दबाब पनि लिएको छैन।’
केही दबाब र उत्साहका बीचमा किर्तिमान बनाउने योजनामा प्रेम छन्।
ग्यारोगीमा पुरुषतर्फ ५८ केजी तौलसमुहमा राहुल कुमाल, ६३ केजीमा गोविन्द बहादुर आले, ६८ केजीमा वीर बहादुर महरा, ८० केजीमा अभिषेक बराल र ८० केजी भन्दामाथिको तौल समुहमा ज्याकी यादवले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। यी मध्ये महरा र आले १३ औं सागका स्वर्ण पदक विजेता पनि हुन्।
एसियाड अघि वैदेशिक प्रशिक्षण नहुँदा नयाँ खेलाडीका लागि गाह्रो हुने अनुमान महराले गरेका छन्। महरा वर्तमान टोलीका अनुभवी खेलाडी हुन्। दोस्रो पटक एसियाड खेल्न लागेका महरा आफैं पनि पछिल्लो पुस्ताबाट नेपाललाई पदक दिलाउने सपनामा मेहनत गरिरहेका छन्।
सातदोबाटोस्थित तेक्वान्दोको आफ्नै भवनमा खेलाडीहरु प्रशिक्षणमा छन्। अनुभवको हिसाबले महराले पदकको आशा गरेका छन्। लामो समय भएको छ तेक्वान्दोले पदक ल्याएको छैन। यो पटक नयाँ इतिहास बनाउने अवसर छ। टोलीका नयाँ खेलाडी भएका कारण अनुभवी खेलाडीलाई प्रशिक्षणका लागि केही गाह्रो भएको छ।
‘तेक्वान्दोमा एसियाबाट नै नेपाललाई चुनौती हुनेछ। यो चुनौतीलाई महराले राम्रोसँग बुझेका छन्। २ महिनाको छोटो प्रशिक्षणमा छौँ,’ यो बीचमा वैदेशिक प्रशिक्षणमा जान पाएको भए केही सहज हुने महरा सुनाउँछन्।
सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्लो समय राम्रो प्रर्दशन गर्न नसक्नुलाई महरा अनुभवको कमीलाई मान्छन्।
१३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता महरालाई एसियाडमा केही दबाब छ। उनी आफ्नो लयलाई निरन्तरता दिने प्रयास गर्दै एसियाडमा पदक ल्याउन चाहन्छन्।
महिलातर्फ ४९ केजी तौल समूहमा अञ्जली तामाङ, ५३ केजीमा आयशा लामा, ५७ केजीमा सन्ध्या कुमारी सिंह र ६७ केजी मुनिको तौल समुहमा इन्दिरा बस्नेतले भाग लिनेछन्।
एसियाडमा मात्र हैन आफ्नो खेल जिवनमा नै पहिलो पटक अन्तर्राष्टिय खेल खेल्न लागेकी इन्दिरा बस्नेत केही उत्साहित र नर्भस पनि छिन्।
नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी इन्दिरा प्रतियोगिता नजिकिँदै गर्दा आफ्नो शतप्रतिशत दिएर खेल्ने योजनामा छिन्। टोलीमा रहेका सिनियर खेलाडीसँगको अनुभवलाई इन्दिराले पनि सिक्ने मौकाको रुपमा लिएकी छिन्।
यसअघि सागमा परेपनि उमेर नपुगेपनि यो पटक केही गरेर देखाउनेमा इन्दिरा दृढ छिन्। कडा प्रशिक्षणमा रहेकी इन्दिराले दबाब महसुस गरेपनि वैदेशिक प्रशिक्षणले केही अनुभव बटुल्ने मौका हुने सुनाउँछिन्।
एक समय सविता राजभण्डारी, संगिता वैद्य, दिपक विष्ट जस्ता खेलाडीले नेपालको साख जोगाउँदै आएका थिए। तर यी खेलाडीको खेल करियर सकिएरपछि तेक्वान्दोले पनि पदक छुन पाएको छैन।
तेक्वान्दोका लागि अन्तिम पटक २००६ ले नेपाललाई पदक दिलाएका थिए। त्यसयताका पुस्ताले पूरानो साखलाई फर्काउन सकेका छैनन्।
सन् २००६ मा कतारको दोहामा भएको १५औं एसियन गेम्समा मनिता शाही, दिपक विष्ट र आयशा शाक्यले कास्य एकै पटक कास्य पदक जितेका थिए।
त्यसअघि सन् २००२ मा दक्षिण कोरियामा भएको एसियाडमा दिपक विष्ट, रेनुका मगर र रितु जिमी राईले कास्य पदक ल्याएका थिए।
यो पटक एसियाडको बन्द प्रशिक्षणमा रहेका ११ मध्ये ७ खेलाडीसँग त अन्तर्राष्ट्रिय खेलको अनुभव नै छैन। ३ खेलाडीसँग मात्र अनुभव छ।
यस्तोमा राखेप र संघले खेलाडीलाई वैदेशिक अभ्यासका लागि पठाउनु पर्ने हो। तर मागेको जति बजेट नपाएपछि संघ निरीह बनेर पूरानै सामाग्रीमा प्रशिक्षण गराइरहेको छ।
१३ औं सागको समयमा ल्याइएका कतिपय सामाग्री अहिले काम नै नलाग्ने अवस्थामा छन्। पर्याप्त खेल सामाग्रीको अभावमा यो पटक पनि तेक्वान्दोबाट पदकको आशा गर्न सकिने अवस्था नरहेको मुख्य प्रशिक्षक टार्जन सुब्बा सुनाउँछन्।
नेपालको लागि राम्रो प्रशिक्षण भएपनि एसियाडका लागि चाहिने जति एक्पोजरको अभाव भएको महसुस प्रशिक्षक आफंैले गरेका छन्।
तेक्वान्दोले एसियाडको तयारीका लागि कोरियामा प्रशिक्षण र च्याम्पिनयसिपका लागि ९० लाख माग पनि राखेपले १२ लाख मात्र उपलब्ध गराएको थियो।
पुम्सेलेले १५ दिनको प्रशिक्षणको अवसर पाएपनि ग्योरोगीले भने वैदेशिक प्रशिक्षणको अवसर पाएको छैन। नयाँ खेलाडीले एक्पोजर नपाउँदा उनीहरु र भएका अनुभवी खेलाडीका लागि क्षमता बढाउनका लागि आर्थिक अभावमा खेलाडीबाट पदकको आशा गर्न नहुने प्रशिक्षक टार्जन सुब्बा बताउँछन्।
करिब डेढ दशक पदक विहिन तेक्वान्दो यो पटक पनि खाली हात फर्कने सम्भावना छ। तेक्वान्दो संघसँग अहिले सेन्सर जी २ को मात्र छ। टेक्नोलोजी एड्भान्स हुँदै जाँदा नेपाल भने त्यो गतिमा अघि बढ्न सकेको छैन।
प्रशिक्षणका लागि चाहिने सेन्सस सागको समयमा आएको सामाग्रीमा प्रशिक्षण गरेको छ। अहिले जी १४, १५ आइसक्दा नेपाली टोली भने जी २ मा नै प्रशिक्षण गरिरहेका छन्। भएका ति सामाग्रीले पनि राम्रोसँग काम गर्दैन। चेस कभर, हेड गार्ड, सेन्सर सक्स पुरानै लगाएर खेलाडी प्रशिक्षणमा छन्।
यस्तोमा पदकका लागि जुन गतिमा प्रशिक्षण हुनुपर्ने हो सो अनुरुप प्रशिक्षण हुन सकेको छैन।
एसियाडका लागि भनेर नै विदेशी टोली लामो समयदेखि प्रशिक्षणमा रहँदा नेपाली टोली भने आर्थिक अभावका कारण देखाउँदै व्यवस्थित प्रशिक्षणबाट बन्चित बन्दै आएको छ।
एसियाड अघि खेलाडीलाई छोटो समयका लागि भएपनि वैदेशिक प्रशिक्षणमा पठाउने प्रयासमा लागिरहेको मुख्य प्रशिक्षक बताउँछन्।
संघ र राखेपले पर्याप्त प्रशिक्षण सामाग्री उपलब्ध गराउन नसक्दा एसियाडमा सहभागी हुने खेलाडीबाट मात्र पदकको आशा गर्नु भने उनीहरूमाथिको अन्याय हुनेछ।
तस्बिर/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया