नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार दिउँसो एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दैछ।
पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
नेपालको क्रिकेट इतिहासमा नेपाली टोलीले पहिलो पटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग खेल्न लागेको हो। नेपाल ओडीआई वरीयताको १५ औँ स्थानमा छ।
पछिल्लो समय बलिङ र ब्याटिङ दुवैमा लयमा रहेको पाकिस्तानसँग नेपाल नयाँ रणनितिसहित मैदान उत्रने छ।
इर्मजिङ एसिया कपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले उत्साहित नेपाल पनि ब्याटिङ र बलिङ दुवैमा जादु देखाउन चाहान्छ।
नेपालले भोलिको खेलमा टस जितेमा पहिले ब्याटिङ गर्ने सम्भावना छ। विश्व क्रिकेटको बलियो टोली पाकिस्तानसँग नेपालका ब्याटरहरु खुलेर खेल्ने कोसिमा हुनेछन्।
ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखको जोडीले निरन्तरता पाउनेछ। तेस्रो नम्बरमा अर्जुन साउद र चौथोमा कप्तान रोहित आउन सक्छन्। विकेट किपरसमेत रहेका साउद सर्ट बल खेल्न सक्ने दक्षता राख्छन्।
भुर्तेलमा नयाँ बलसँग आरामसँग खेल्न सक्ने विशेष क्षमता छ। जसका कारण पाकिस्तानका तीव्र बलरको सामना सहजै गर्न सक्नेछन्। त्यसबेला मध्य र तल्लोक्रमका ब्याटिङ लाइन मजबुत हुनेछ।
बलिङमा स्पिनर सन्दीप लामिछाने नेपालको प्रमुख हतियार हुनेछन्। सन्दीपले विदेशी लिगको अनुभव पाकिस्तानविरुद्ध प्रयोग गर्न सक्नेछन्। तीव्र गतिका बलर सोमपाल कामी र करण केसीबाट धेरै अपेक्षा गरिएको छ। टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरी पाकिस्तानविरुद्ध आफ्नो भूमिकामा फिट हुने आशा छ।
पछिल्लो समय अलराउण्ड भुमिकामा देखिएका गुलशन झाको नयाँ प्रयोग पाकिस्तानका लागि चुनौतीपुर्ण हुन सक्नेछ। यद्यपि पाकिस्तानले सबै खालका रणनीति नेपालविरुद्ध प्रयोग गर्नेछ।
पाकिस्तानविरुद्ध अलराउण्डर करण केसी र ललित राजवंशीमध्ये एकजनाले मात्र मौका पाउन सक्ने सम्भावना छ।
पाकिस्तानका कप्तान बाबर आजम, फखर जमान र मोहम्मद रिजवानले ब्याटिङमा शानदार प्रदर्शन गरिरहेका छन्। नेपालसँग खेल्नुअघि पाकिस्तानले बाँया हाते ब्याटर साउद सकीललाई टोलीमा समेटेको छ। जुन नेपाली बलरका लागि टाउको दुखाइ बन्न सक्नेछन्।
यस्तै पाकिस्तानका घातक बलर नसिम शाह, हरिस राउफ र शहिन शा अफ्रिदीको चुनौती नेपाली ब्याटरका लागि अग्निपरीक्षा हुनेछ।
श्रीलंकामा भएको एक दिवसीय सिरिजमा अफगानिस्तानविरुद्ध ३–० ले क्लीन स्वीप गरेको पाकिस्तान उच्च मनोबलसहित नेपालविरुद्ध घरेलु मैदानको फाइदा उठाउनेछ।
एसिया कपका लागि नेपाली टोली एक साताअघि नै पाकिस्तान पुगिसकेको छ। कराँचीमा केही दिन अभ्यास गरेको नेपाली टोली एसिया कपका लागि मुलतान पुगिसकेको छ।
नेपाली टोली पाकिस्तान पुगेसँगै टोलीका अलराउण्डर करण र सन्दीपको चर्चा भारतीय र पाकिस्तानी सञ्चारमाध्यममा भइरहेको छ। पाकिस्तानी टोलीले नेपालका खेलाडीबारे अध्ययन गरिरहेका छन्।
एसिया कप नेपाली टोलीका लागि अनुभव बटुल्ने थलो मात्र होइन, आफ्नो क्षमता प्रर्दशन गर्ने स्वर्णिम मौका पनि हो।
एसिया कपमा नेपालले पाकिस्तान र भारतसँग खेल्दा विश्व क्रिकेटको नजर नेपाली टोलीमाथि हुनेछ। एसिया कपमा रोहित पौडेल सबैभन्दा कान्छा कप्तान हुन्। उता पाकिस्तान बाबर आजमको कप्तानीमा रहनेछ।
उत्कृष्ट लय जोगाउने चुनौती
मुख्य प्रशिक्षकको रुपमा मोन्टी देसाइको आगमनपछि नेपाली टोली उच्च लयमा छ। देसाइले टोली सम्हालेपछि नेपालले एक दिवसीय मान्यता मात्रै जोगाएन, एसिया कप र एसिया इमर्जिङ कपमासमेत स्थान बनाएको छ।
‘ह्याप्पी ड्रेसिङ रुम’ को अवधारणा अवधारण अघि सारेका मोन्टीकै रणनितिले नेपालका ब्याटरहरुको प्रदर्शन लयमा देखिएको हो। लगातार विकेट पतन भए पनि सम्हालिएर खेल्न ब्याटरहरु क्रिजमा उच्च मनोबलमा हुन्छन्। जसका कारण कोही न कोही ब्याटर चलिरहेका छन्। जसको नतिजा पनि टोलीले देखाएको छ।
मोन्टीले पनि पछिल्लो ६ महिनाको अनुभवका आधारमा नेपाली टोलीले लय कायम राख्ने विश्वास लिएका छन्।
............
नेपाल र पाकिस्तानको खेलपछि दुवै टोली भारतसँगको खेल्न श्रीलंका जानेछन्। भारतसँगको सबै खेल श्रीलंकामा हुनेछ।
नेपाल र भारतको खेल सोमबार श्रीलंकाको कान्डीमा हुनेछ। भारत र पाकिस्तान आइतबार भिड्नेछन्।
एसिया कपमा नेपाल, पाकिस्तान र भारत समुह ‘ए’ मा छन्। श्रीलंका, बंगलादेश र अफगानिस्तान समुह ‘बी’ मा छन्।
नेपालले शीर्ष २ मा स्थान बनाउन सके ‘सुपर फोर’मा स्थान बनाउनेछ।
नेपाली टोली :
रोहित पौडेल, आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरि, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।
पाकिस्तानी टोली :
बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), अब्दुल्लाह शफिक, सलमान अली अघा, फहिम अशरफ, फखार जमान, हारिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेट किपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, साउद सकिल, शाहिन शाह अफ्रिदी, उस्मा मिर।
Shares
प्रतिक्रिया