म्यानचेस्टर सिटीका नर्वेजियन फरवार्ड इर्लिङ हालान्डले प्रोफेसनल फुटबलर्स एसोसियसनले प्रदान गर्ने 'मेन्स प्लेयर अफ दी इयर' अवार्ड जितेका छन्।
गत सिजन म्यानचेस्टर सिटीमा डेब्यु गरेका उनले सबै प्रतियोगितामा सर्वाधिक ५२ गोल गरेका थिए।
सिटीलाई एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जिताउन मुख्य योगदान दिएका उनले महत्वपूर्ण अवार्ड जितेका हुन्।
यो वर्षको युवा वर्ष खेलाडीको अवार्ड आर्सनलका फरवार्ड बुकायो साकाले प्राप्त गरे। उनले गत सिजन १४ गोल र ११ गोलका लागि असिस्ट गरेका थिए।
यो अवार्ड जित्ने क्रममा हालान्डले सिटीका मिडफिल्डरद्वय केभिन डी ब्रुइने र जोन स्टोन्स तथा आर्सनलका बुकायो साका, मार्टिन वडेगार्ड र टोटेनहमका तत्कालीन फरवार्ड ह्यारी केनलाई उछिने।
उनले उक्त अवार्ड जितेपछि आफ्नै सहकर्मीबीचको प्रतिस्पर्धाबाट अवार्ड जित्न पाउँदा खुसी लागेको बताए।
सिटीले हालान्डलाई सन् २०२२ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ५१ मिलियन पाउण्डमा किनेको थियो।
Shares
प्रतिक्रिया