ad ad

खेल


स्कुल टु ओलम्पिक : खेलकुद र अध्ययनलाई सँगै अघि बढाउन अनुभवी खेलाडीको सुझाव

स्कुल टु ओलम्पिक : खेलकुद र अध्ययनलाई सँगै अघि बढाउन अनुभवी खेलाडीको सुझाव

नेपालखबर
भदौ २१, २०८० बिहिबार १६:२५, काठमाडौँ

स्कुल टु ओलम्पिक अन्तर्गत पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ।

नेपाल ओलम्पियन्स संघको समन्वयमा बिहीबार भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएसँगै पहिलो चरणको कार्यक्रम सकिएको संघका अध्यक्ष दिपक विष्टले बताएका छन्।

नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियन अन्य खेलाडीले विद्यार्थीहरुमाझ आफ्नो अनुभव सुनाएका थिए।

५० वर्षअघि नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा एसियन ट्रयाक एण्ड फिल्डमा म्याराथनमा कास्य पदक जितेका जीतबहादुर केसी, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन विष्णुबहादुर सिंह, ओलम्पियन्स संघका अध्यक्ष तथा  कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, ओलम्पियन सरस्वती चौधरी र १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलका स्वर्ण पदक विजेता गोलकिपर विकेश कुथेले विधार्थीहरुलाई आफ्नो खेल जीवनको सुरुआत, सफलता, असफलता र खेलाडीप्रति समाजको दृष्टिकोणका बारेमा सुनाएका थिए।

कार्यक्रममा विद्यार्थीहरुले खेलकुद र अध्ययनलाई कसरी सँगै अघि बढाउन सकिन्छ? खेलेर जीविकोपार्जन गर्न सक्ने अवस्था छ? नेपाली अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न नसक्नुको कारणका बारेमा जिज्ञासा राखेका थिए।

ओलम्पियन विष्टले समयको उचित व्यवस्थापन गर्न सके अध्ययन र खेललाईसँगै लैजान सकिने बताए।

गोलकिपर विकेशले फुटबलमा खेलेर पनि बाच्ने अवस्था रहेको बताए। एनओसी महासचिव श्रेष्ठले अन्तर्राष्ट्रिय सफलताका लागि खेलाडीले चाहेर मात्र नहुने सरकारले प्रशिक्षण र वातावरण पनि निर्माण गर्नुपर्नेमा जोड दिए।

जीवनमा एउटा असफलताबाट हरेस नखाइ दृढ भएर आफ्नो लक्ष्यमा लाग्ने हो भने सफलता मिल्ने धावक राजेन्द्र भण्डारीले बताए। सिओल ओलम्पिकमा बक्सिङमा पाराग्वेका खेलाडीलाई जितेपछि आफ्नो डोपिङ टेष्ट गरेको अनुभव ओलम्पियन सिंहले साटेका थिए। ओलम्पियन केसी र चौधरीले पनि आफ्नो खेल जीवनका बारेमा विद्यार्थीहरुलाई सुनाएका थिए।  

कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक नारायणबहादुर थापाले ओलम्पियनहरुलाई धन्यवाद दिए। महाविद्यालयका प्राचार्य दलबहादुर पुनले फुटबल, क्रिकेट, भलिबल, मार्सल आर्टसका खेलहरुको नियमित अभ्यास हुने जानकारी दिए।

यसअघि ओलम्पियन संघको सहकार्यमा काभ्रेकोे साँगास्थित नेपाल प्रहरी स्कुल, कीर्तिपुरको एपिएफ स्कुलले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेका थिए।

पहिलो चरणमा प्रदेश खेलकुद विकास परिषद् अन्तर्गत कर्णालीले सुर्खेत र जुम्लामा, सुदूरपश्चिमले धनगढी र भिमदत्त नगरपालिकामा, कोशीको इटहरीमा, लुम्बिनीको सिद्धार्थनगरमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .