एसिया कपमा विश्व क्रिकेटका महारथी पाकिस्तान र भारतसँग खेलेर स्वदेश फर्किएपछि राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन विमानस्थलमा भने, ‘हाइ टाइम भइसक्यो अब चाहिँ पूर्वाधारमा लगानी गर्नुपर्छ जस्तो लाग्छ। किनकी हामी सँधै पूर्वाधारमा संर्घष गरिरहेका हुन्छौँ।’
पछिल्लो आठ महिनालाई हेर्ने हो भने नेपाली क्रिकेटको गतिले उचाइ लिइरहेको छ। लिग २ को मध्य देखि नेपालले उच्च प्रदर्शन गरिरहेको छ।
नेपालमा आईसीसीले मान्यता दिएको त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीले अभ्यास गरिरहेका छन्। तर, सो मैदानमा दिनरात (डे–नाइट) खेल्न मिल्दैन। कारण त्यहाँ फ्लड लाइट जडान गरिएको छैन।
त्रिवि मैदानमा चर्को घाम होस् वा पानी। क्रिकेट समर्थकहरू घन्टौं बसेर आफ्नो मनपर्ने टोलीलाई समर्थन गरिरहेका हुन्छन्। तर, साँझ पर्दै जाँदा खराब लाइटका कारण खेलहरू रोकिएका थुप्रै उदाहरण छन्।
गएको चैत ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि ग्राउन्डमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका थिए।
सोही अनुसार सरकारले बजेट पनि विनियोजन गरेको छ।
तर, राष्ट्रिय खेलकूद परिषद् भने टेन्डर आह्वानमै अल्झिएको छ।
यो अवधिमा राखेपले दुईपटक टेन्डर निकालिसकेको छ। पहिलो पटक पाँचवटा कम्पनीको आवेदन परेपनि कुनै क्वालिफाइड नभएपछि दोस्रो पटक टेन्डर आह्वान भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।
भ्याटबाहेक २८ करोड रुपैयाँमा निकालिएको ग्लोवल टेन्डरमा कतिवटा कम्पनीको आवदेन पर्छ अबको एक हप्तामै थाहा हुन्छ।
घिसिङका अनुसार नौ महिनाको समय दिएर निकालिएको दोस्रो पटकको टेन्डरमा राखेपले चाहेको कम्पनीको आवेदन पर्ने विश्वास छ।
हामीले पहिलोपटक निकालेको टेन्डरमा पाँचवटा कम्पनीको आवेदन परेपनि कुनै क्वालिफाइड भएनन्,’ घिसिङले नेपालखबरसँग भने, ‘दोस्रो पटक ४५ दिनको समय दिएर निकालेको टेन्डरको समय एक हप्तापछि सकिन्छ अनि खोल्छौं।’
टेन्डरमै अल्झिएको राखेपले नेपालमा ठूला क्रिकेट हुँदैछन् भन्ने कुरा हेक्का राखेको देखिएन।
चैतदेखि अहिलेसम्मको अवधिमा धमाधम काम हुनुपर्ने हो तर, राखेपले टेन्डर पार्ने कम्पनी समेत फेला पार्न सकेको छैन।
यदि अहिले टेन्डरमा कुनै कम्पनी क्वालिफाइड भयो भनेपनि त्यसले फ्लड लाइट राख्न झण्डै एक वर्ष समय पाउँछ।
किनकी ९ महिना उसले कानुनी रुपमै समय पाउँछ। त्यो पनि टेन्डर परेर सम्झौता भएको मितिदेखि।
तर, राखेप सदस्य सचिव घिसिङ २ महिनाभित्रै काम सम्पन्न गर्न सकिने दाबी गर्छन्।
‘दुई पक्षबीच सहमति भयो भने २/३ महिनामा सकिन्छ। मैले टेन्डर खोलेर सम्झौता गरेर पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने पक्षमा थिएँ,’ घिसिङले भने, ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको ठेक्काको स्टान्डर्ड फलो गर्नुपर्ने बाध्यता भएकोले ग्लोवल टेन्डरबाट पहिलो चरणमा क्वालिटी मेल खाएन।’
राखेप स्रोतका अनुसार भने कमिशनमा कुरा नमिलेकै कारण प्रक्रियागत झन्झट देखाएर काम रोकिएको हो।
‘कमिसनको ग्यारेन्टी नभएसम्म त्रिविको फ्लड लाइटको लागि ठेक्का लाग्ने देखिएन,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘प्रक्रियागत झन्झट देखाएर काममा ढिलाइ भएको छ। प्रधानमन्त्रीको निर्देशन अनुसार त काम गर्दैनन् भने विषयको गम्भीरता भन्ने कुरा नीति निर्माणमा रहेकाले बुझेनन्।’
राखेप सदस्य सचिव घिसिङ भने नेपालको ठेक्का प्रणालीले जटिल बनाएको दाबी गर्छन्।
‘भन्ने बित्तिकै निर्देशन पालना गरिहाल्न हाम्रो ठेक्का सिस्टम नै झन्झन्टिलो छ,’ उनले भने, ‘यसमा ग्लोबल टेन्डर निकाल्नुपर्छ। फेरि ४५ दिन ठेक्काकै लागि समय दिनुपर्छ। एकपटक ठेक्का नलाग्दा फेरि रि-टेन्डर गर्नुपर्यो जसले गर्दा ३ महिना त त्यसै समय बित्यो।’
गत चैतमा सोही मैदानमा भएको आईसीसी लिग २ अन्तर्गतको खेलमा यूएईलाई पराजित गर्दै नेपालले एक दिवसीय वरियता जोगाएको छ।
सो खेल हेर्न टियू मैदानै पुगेका प्रधानमन्त्री प्रचण्डले मैदानमा फ्लड लाइट र स्कोर बोर्ड नदेखेपछि तत्काल जडान गर्न निर्देशन दिएका थिए।
तर, प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन हुन सकेन। भदौ सकिँदा ठेक्का सम्झौता हुन सकेको छैन। जबकि आगामी अक्टोबरदेखि नेपालले ठूला प्रतियोगिता आयोजना गर्दैछ। एक महिनापछि हुने खेलहरु पनि फ्लड लाइटबिना नै सञ्चालन हुनेछ।
आगामी अक्टोबर ३० देखि ९ नोभेम्बरसम्म नेपालले आईसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा स्पर्धा गर्दैछ। त्यो अघि नेपालले जिम्बाबे र वेष्ट इण्डिजमध्ये एक टोलीसँग सिरिज खेल्ने सम्भावना छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भौतिक संरचना सुधार गर्नुपर्छ भनेर गत चैत ३ गते फ्लड लाइट राख्नका लागि तत्काल काम थाल्न निर्देशन दिएको बताए। फ्लड लाइट राख्न भइरहेको ढिलाईप्रति प्रधानमन्त्री समेत निराश छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलकुद परिषद्को विद्यमान प्राविधिक संरचनाको कारणले गर्दा यथास्थितीमा नेपालको क्रिकेटको पूर्वाधारको विकास सम्भव छैन।
‘त्यसैले सरकारले यसलाई नयाँ ढाँचामा लैजान पर्यो नभए शहरी विकास मन्त्रालय लगायत विकास निमार्ण गर्ने निकायलाई जिम्मा दिन पर्यो। खेलकुद परिषद्को २,४,६ जना प्राविधिकले ७७ जिल्ला भ्याउँदैन’ उनले भने, ‘मुलपानी निमार्णमा ढिलाइ हुनु र त्रिवि मैदानमा ढिलाइ हुनुको कारण कमजोर प्राविधिक भएर हो। राखेपमा संख्या नै छैन रे, परिषद्को जनशक्ति दक्ष नै छैन रे भन्ने कुरा हो बाँकी कुरा राखेपलाई नै सोध्नुपर्छ।’
उनले थपे, ‘खेलकुदको पुर्वाधारका लागि बजेट छुट्टाएर मात्र के गर्ने, खर्च गर्ने संयन्त्र छैन। काम गराउने संयन्त्र नै भएन भने के गर्ने त्यसले गर्दा एकदमै गाह्रो भएको छ, यसबारेमा सरकार, मन्त्रालय र मिडिया सबैले सोच्दिन पर्यो। हामीले सबैलाई भनेका छौँ। राखेपको सुस्त गतिले पुर्वाधार सम्भव छैन, पुर्वाधार भएन भने क्रिकेट मरेर जान्छ। कमजोर हुन्छ भनेर भनिरहेको छु।’
नेपाली क्रिकेटका कप्तान रोहितले भएकै क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन सके राम्रा देशरुसँग नेपालमै बोलाएर प्रतिस्पर्धा गर्न सकिने र त्यसले राम्रो अभ्यास हुने बताउँछन्।
‘हामीसँग एउटा मात्र बिकेट छ, सबै खेलाडीले त्यही तयारी गुर्नपर्छ। प्रदेशतहमा पूर्वाधार छैन, त्यसैले मलाई लाग्छ सबै प्रदेशमा पिच भयो भने तयारी गर्न सकिन्छ। हामीसँग टियु मैदान मात्र छ। पूर्वाधार मात्र हैन खेलाडीको अवस्था पनि कमजोर छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण खेलाडीले कसरी खेलिरहेका छन् भनेर मलाई थाहा छ। खेलाडीलाई पनि आर्थिक सुनिश्चितता भयो भने खेलाडीले खेलमा मात्र ध्यान दिए पुग्छ। यो बारेमा सरकार र सबैले सोच्नुपर्छ।’
Shares
प्रतिक्रिया