ad ad

खेल


जसले निन्द्रामा रहेको भलिबल खेललाई जगाए

अन्य खेलहरुको तुलनामा नेपालमा भलिबल खेलको इतिहास लामो भएपनि नेपाल भलिबल संघ स्थापनाको ४४ वर्षपछि मात्र यसले राष्ट्रिय खेलको मान्यता पायो।

नेपाल भलिबल संघको २०६८ साउनमा पोखरामा सम्पन्न पाचौं वार्षिक साधारणसभाले नेपालको राष्ट्रिय खेल भलिबल हुनुपर्ने माग राख्दै सरकारलाई निवेदनसहित पहल गर्ने निर्णय गर्यो।

भलिबल संघका तत्कालीन अध्यक्ष दानबहादुर तामाङको नेतृत्वमा बसेको बैठकले गरेकाे उक्त निर्णयसँगै भलिबललाई राष्ट्रिय खेल बनाउने अभियानले संस्थागत रुप लिएको थियो।

२०७४ जेठ ८ गतेको मन्त्रीपरिषद् बैठकले भलिबललाई राष्टिय खेल घोषणा गर्यो। तत्कालिन खेलकुद मन्त्री दलजित श्रीपाईलीको कार्यकालमा भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको हो।

भलिबललाई राष्ट्रिय खेल घोषणा गरे पनि यसको चर्चा हुन थालेको लामो समय भएको छैन। खेलिने क्षेत्र, प्रतियोगिताको संख्या र उमेर समुह लगायतका आधारमा नेपालमा खेलिने खेलहरुमध्ये भलिवल अग्रस्थानमै आउँछ।

भलिबलले पछिल्लो समय पाएको चर्चा र सफलताको श्रेय पाउनेमध्ये एक हुन् भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा। झण्डै डेढ दशक शून्य गतिविधिमा रहेको भलिबललाई तामाङको नेतृत्वले चलायमान बनाएको थियो। त्यति बेला अहिलेका अध्यक्ष शर्मा उपाध्यक्ष थिए। संयोग नै पनि मान्नुपर्छ अघिल्लो कार्यकालमा चलायमान भएको भलिबलले शर्माको समयमा आएर सफलताको सिलसिला सुरु भएको थियो।

भलिबलमा चार वर्षअघिसम्म गुमनाम रहेका शर्मा २०७३ मा संघको नेतृत्व सम्हालेसँगै चर्चामा आए। पछिल्ला वर्षमा उनले भलिबल खेलतर्फ धेरैको ध्यान तान्न सफल भए र त्योसँगै आफू पनि चर्चामा रहे।

खेल क्षेत्रमा ‘नामजस्तै फरासिला मान्छे’ भनि चिनिने मनोरञ्जन रमणले प्रायः हरेक कार्यक्रममा गीत, कविता वा सायरीबाट आफ्ना भनाई तथा प्रस्तुती शुरु गर्छन।
नेतृत्व सम्हाल्दा उनलाई धेरैले त्यति पत्याएका थिएनन्। तर उनले अहिले जसरी काम गरिहेका छन् त्यसका कारण सबैतिरबाट प्रशंसा बटुल्न सफल भएका छन्।

के के गरे उनले?
उनले भलिबलकै विकासका लागि भनी व्यक्तिगत रुपमा १० लाख रुपैँयाको अक्षयकोष स्थापना गरे। यहिबीचमा व्यवसायिक संघ संस्थालाई पनि भलिबलमा जोडे।

उनकै कार्यकालमा भलिबलले महिला पुरुष दुवैतर्फ पदक ल्यायो। पुरुष टोलीले २०७३ चैतमा विभिन्न एसियाली मुलुकहरु सहभागी हुने सेन्ट्रल जोन भलिबलमा कास्य पदक जितेको थियो।

महिला भलिबलतर्फ यो वर्ष नेपालका लागि उल्लेख्य सफलता हात प¥यो। यसै वर्ष महिला टोलीले २ वटा पदक ल्याएर चर्चाको शिखरमा रहे महिला भलिबल खेलाडी। कार्तिकमा भएको सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक रुपमा नै पहिलो स्वर्ण पदक ल्याएर सनसनी मच्चाएको महिला भलिबलले गत मंसिरमा घरेलु मैदानमैं सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा रजत पदक जितेको थियो।

आफूले निन्द्रामा रहेको भलिबलाई जगाउने काम गरेको उनको दाबी छ। भलिबललाई प्रायोजकहरु खोज्नका लागि घरघरसम्म पुगेको उनी बताउँछन्। ‘सबैसँग हात जोडियो, अनि मात्र यहाँसम्म ल्याउन सकिएको हो,’ उनले भने।

उनले संघको नेतृत्व सम्हाल्दा ‘ग्रासरुट’ र बढिभन्दा बढि युवाहरुलाई समेटेर भलिबललाई अघि बढाउने प्रतिवद्धता जनाएका थिए। तर त्यसतर्फ उल्लेख्य प्रगति हुनसकेको छैन।

‘यसमा काम गर्न नसकेकोमा म क्षमा माग्छु, तर मैले चाहेर मात्र नहुने रहेछ। यसकालागि स्कुल भलिवल कमिसन गठन गरिएको थियो। तर यसले काम गर्न सकेन,’ उनले भने। ‘३ वर्ष भैसक्दा पनि काम गर्न नसकेको र असक्षम रहेको आरोप लगाए, काम गर्न नसक्ने हो भने संघलाई भन्दा हुन्थ्यो।’

शर्मा नेतृत्वको कार्यकाल अब केहि महिना मात्र बाँकी छ। अरुको साथ पाए नेतृत्वमा निरन्तरता दिन आफू इच्छुक रहेको बताए।

‘मेरो कार्यकालमा भएको काम सबैले देख्नुभएकै छ। तर भलिबललाई अझै अगाडी बढाउने र आर्थिक रुपमा बलियो बनाउने हो भने जसले नेतृत्व सम्हाल्दा पनि हुन्छ,’ उनले भने। सबैको साथ पाए नेतृत्वमा दोहोरिने इच्छा रहेको भने प्रष्टै झल्किन्थ्यो।

‘कसैले केही सहयोग चाहिँ नगर्ने तर स्वर्ण पदक आएन मात्र भन्ने हो भने नेतृत्वमा निरन्तरताका लागि अघि नबढ्ने’ उनले बताए।

स्तरीय भौतिक पुर्वाधारको अभाव
भलिबललाई राष्ट्रिय खेल भनिए पनि स्तरीय भौतिक पुर्वाधार भने अझै छैनन। प्रतियोगिता आयोजना गर्दा कभर्ड हलको अभावले सँधै पिरोल्छ।

यसको लागि सरकारले बुढानिलकण्ठ र कीर्तिपुरमा जग्गा हेर्ने र सम्भाव्यता अध्ययनपछि कर्भडहल बनाउने आश्वासन पाएको शर्माले बताए।

भलिबलका लागि स्थायी र सुविधासम्पन्न कभर्डहल अहिलेको प्रमुख आवश्यकता हो। प्रतियोगिता गर्न नेपाली सेनाकै हलमा भर पर्नुपर्ने बाध्यता रहेकाले हल बनाउनका लागि संघले काम गरिरहेको हो।

आफ्नै हल नहुँदा सेन्ट्रल जोन प्रतियोगिता आर्मीको हलमा गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे।

परिषद्को एउटै हलमा प्रतियोगिता गर्न पालो कुर्नुपर्ने बाध्यता रहेकाले यसलाई हटाउन आफुले काम गरिरहेको शर्माले बताए।

माघ १०, २०७६ शुक्रबार १४:३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .