ad ad

खेल


एसियन गेम्समा सहभागी हुने टोलीलाई प्रधानमन्त्रीले गरे बिदाइ

‘खेलाडीका लागि घोषणा भएको पुरस्कार छिट्टै दिलाउँछु’
एसियन गेम्समा सहभागी हुने टोलीलाई प्रधानमन्त्रीले गरे बिदाइ

नेपालखबर
भदौ २८, २०८० बिहिबार १७:३१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्समा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई बिदाइ गरेका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई बिदाइ गरेका हुन्। 

बिदाई कार्यक्रममा प्रधानमन्त्री दाहालले एसियाडमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई शुभकामना दिए। 

एसियाडको इतिहासमा पहिलो पटक यति धेरै खेलाडीले सहभागिता जनाउन लागेका हुन्। 

बिदाई कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको छ। यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास छ। पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ। धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईंहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ। मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ।’

नेपालका खेलाडीहरूले अढाई महिनादेखि तयारी गरेको जानकारी आफूले पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफू पनि खेल हेर्नका लागि चीन भ्रमणमा जाने बताए।

‘खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी अढाइ महिनादेखि तपाईहरू बन्द प्रशिक्षणमा रहेको मैले जानकारी पाएको छु। यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास छ। म आफूसमेत प्रतियोगिता हेर्न चीन भ्रमणमा जाँदैछु। त्यसले तपाईहरूको मनोबल बढाउन र खेल कुटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारले आफुलाई गम्भीर बनाएको बताउँदै यसलाई छिटै समाधान गर्ने विश्वास दिलाए। 

१९ औं एसियन गेम्समा नेपालका तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २ सय ५३ खेलाडी, ५१ प्रशिक्षक र २९ खेलका टिम म्यानेजरले सहभागिता जनाउँदैछन्।

एसियाड असोज ६ देखि २१ गते सम्म हुनेछ। एसियाडको उद्घाटन असोज ६ गते हुने भएपनि खेलहरु भने २ गतेदेखि नै सुरु हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .