ad ad

खेल


भारतलाई रोक्दै एसिया कपको उपाधि घरमै राख्ला श्रीलंकाले?

भारतलाई रोक्दै एसिया कपको उपाधि घरमै राख्ला श्रीलंकाले?

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार १४:१०, काठमाडौँ

एसिया कप २०२३ को उपाधिका लागि आज आइतबार भारत र श्रीलंका भिड्दैछन्। 

श्रीलंकाको घरेलु मैदान कोलोम्बोमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। ३५ हजार क्षमताको कोलोम्बोको आर प्रेमदासा स्टेडियमका सबै टिकट बिक्री भइसकेका छन्। 

भारतको कप्तानी रोहित शर्माले गर्दा श्रीलंकाको कमानी भने दासुन शानकाले गर्ने छन्।

श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै सातौं पटक एसिया कपको उपाधि जित्न चाहान्छ। घरेलु मैदानमा स्पिन आक्रमणमा मजबुद श्रीलंका भारतलाई रोक्ने रणनितिमा हुनेछ।

फाइनलअघि चोटका कारण स्पिनर महेश थिक्सेनालाई गुमाएको श्रीलंकालाई केही समस्या पर्ने देखिन्छ। उनको स्थानमा सहान अरचिगे आउन सक्छन्।

घरेलु टोलीका लागि स्पिनर दुनिथ वेलालागे, मथिस पाथिराना मुख्य हतियार हुन्। ब्याटिङ अलराउण्डर चरिथ असलंका, कुशल मेन्डिस, विकेटकिपिङ ब्याटर कुशल परेरा र पथयुम निशाङके मुख्य ब्याटर हुन्। 

उता भारत पनि श्रीलंकालाई उसकै भूमिमा स्तब्ध पार्दै आठौं उपाधि उचाल्ने योजनामा छ। ब्याटिङ लाइनमा मजबुद भारत समूह चरणकै प्रदर्शनलाई दोहोर्‍याउन चाहान्छ। भारतका ओपनर शुभमन गिल र रोहित शर्मा उच्च लयमा छन्।

शुभमन र कप्तान शर्माको उच्च साझेदारी घरेलु टोलीका लागि केही घातक बन्न सक्छ। जस्प्रित बुमराह, कुलदीप यादव र सार्दुल ठाकुर भारतका प्रमुख हतियार हुन्। 

पछिल्लो पाँच खेललाई हेर्ने हो भने चार खेलमा भारत अपराजित छ। एक खेलमा श्रीलंकाले कोलोम्बोमा नै भारतलाई डीएल मेथडमा ३ विकेटले हराएको थियो। त्यसपछिका बाँकी खेलमा भारत अपराजित छ। 

सुपर फोरमा दुवै टोलीको समान ४ अंक भएपनि नेट रनरेटमा भारत शीर्ष र श्रीलंका दोस्रो  स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन्। 

सुपर फोरमा पाकिस्तानलाई २ विकेट तथा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका भारतसँग भने ४१ रनले पराजित भएको थियो। श्रीलंका फाइनलमा त्यो हारको बदला पनि लिन चाहान्छ। 

उता पाकिस्तानलाई २ सय २८ रनको विशाल अन्तरले हराएको भारत बंगालदेशसँग भने ६ रनले पराजित भएको थियो। सुपर फोरमा घरेलु टोलीलाई ४१ रनले हराएको भारत फाइनलमा पनि त्यही लय दोहोराउने दाउमा छ। 

पछिल्लो पटक भारतले सन् २०१८ मा र श्रीलंकाले २०२२ मा एक दिवसीय एसिया कपको उपाधि जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .