सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता नेपाली टेबल टेनिस टोलीले १९ औँ एसियन गेम्समा सहभागिता जनाउँदै छ।
एसियाडका खेलहरु मंगलबारदेखि सुरु भएका छन्। एसियाडमा टेबल टेनिसका खेलहरु आगामी असोज ५ देखि १५ गतेसम्म हुनेछ।
एसियाडमा सहभागी हुने खेलाडीमध्ये नविता श्रेष्ठ र सिक्का सुवाल अनुभवी खेलाडी हुन्। तर एसियाडमा नविताबाहेक सबै खेलाडीले पहिलो पटक स्पर्धा गर्न लागेका हुन्। एसियाडमा श्रेष्ठद्वयसँगै इभिना थापा मगर, संयोग कपाली, रुबिन महर्जन र विलोस श्रेष्ठले स्पर्धा गर्दैछन्।
एसियाडकै लागि टेबल टेनिस टोली करिब ४ महिनादेखि प्रशिक्षणमा छ। त्यसअघि पनि टेबल टेनिस टोली नियमित प्रशिक्षणमा रहेको प्रशिक्षक सञ्जिव ढुंगेल बताउँछन्। एसियन च्याम्पियनसिपको अनुभव र नतिजाले पनि एसियाडमा सहयोग गर्ने विश्वास प्रशिक्षक ढुंगेलले लिएका छन्।
‘एसियाडका लागि तयारी राम्रो भइरहेको छ, टोलीमा नयाँ खेलाडी छन्। त्यसैले केही अनुभवको अभाव हुन्छ,’ प्रशिक्षक ढुंगेलले भने, ‘तर हाम्रो लक्ष्य एसियाडको अनुभवले सागमा स्वर्ण जित्ने हो। हामीले यसअघि रजत जितेका थियौँ, अब स्वर्णका लागि तयारी गर्ने हो।’
प्रशिक्षक ढुङगेलका अनुसार नयाँ खेलाडीले सिनियरलाई विस्थापित गरेर टोलीमा स्थान बनाउन सके लामो समय खेल्न पाउँछन्।
यो पटकको एसियाड अन्य जस्तै टेबल टेनिसले पनि अनुभव बटुल्ने नै हो। यसअघिको संस्करणमा भन्दा यो पटक नतिजा सुधार्दै खेलाडीलाई अनुभवी बनाउनु हो। तर एसियाडको अनुभवलाई साथमा राख्दै सागमा स्वर्ण जित्ने लक्ष्यमा टेनिस टोली अर्को तयारीमा जुट्नेछ।
प्रशिक्षक ढुङगेल विद्यालयबाट नै एकेडेमी खोलेर प्रशिक्षण दिन सके अझ राम्रो गर्न सकिने सुनाउँछन्।
यसअघिको एसियाडमाभन्दा तुलनात्मक रुपमा बढी समय पाएको नेपाली टोलीले यो पटक छोटो तयारीका बाबजुत पनि राम्रो खेल देखाउने योजनामा छ।
अनुभवी खेलाडी नविताको उपस्थितिले नयाँ खेलाडीमा उत्साह बढाउन सक्छ। आमा बनिसकेपछि नविताको मिहिनेतले टोलीमा स्थान मात्रै बनाउन सघाएन, नयाँ खेलाडीमा पनि उत्साह भर्ने काम पनि गरेको छ।
तस्बिर/भिडिओ : सरोज नेपाल
प्रतिक्रिया