स्पेनिस क्लब एफसी बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवात सानदार बनाएको छ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले बेल्जियमको रोयल एन्टवर्पविरुद्ध एकपक्षीय ५-० गोलअन्तरको जित निकालेको हो।
बार्सिलोनालाई घरेलु मैदानमा गोलवर्षासहितको जित दिलाउने क्रममा यसै लोनमा भित्रएका जोआओ फेलिक्सले २ गोल गरे। त्यस्तै रोबर्ट लेवान्डोस्की र गाभीले पनि व्यक्तिगत १-१ गोल गरेका छन्।
गोलवर्षा गर्ने क्रममा बार्सिलोनाले खेलको ११ औँ मिनेटमै अग्रता बनायो। फेलिक्सले ११ औँ मिनेटमा गोल गरेपछि १९ औँ मिनेटमा लेवान्डोस्की अग्रता दोब्बर बनाए।
त्यसपछि पनि बार्सिलोनाको आक्रमण जारी रह्यो। यसका लागि खेलको २२ औँ मिनेटमा बार्सिलोनालाई रोयलका बाटेइलीले आत्मघाती गोल उपहार दिए।
दोस्रो हाफमा बार्साले थप २ गोल गर्यो। उसका लागि खेलको ५४ औँ मिनेटमा गाभी र ६६ औँ मिनेटमा फेलिक्सले अर्को गोल गरेपछि अग्रता ५-० पुग्यो।
यो फराकिलो जितपछि बार्साले समूह 'एच' ३ अंक जोडेको छ। जाभी हरार्न्डेज नेतृत्वको बार्साका लागि यसै सिजन भित्रिएका खेलाडीले पनि प्रभावशाली प्रदर्शन गरेका छन्।
Shares
प्रतिक्रिया