चीनको हाङझाओमा जारी १९ औँ एसियाली खेलकुदमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ।
टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। उत्कृष्ट प्रदर्शनसहित फर्किएको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का अधिकारीहरूले स्वागत गरेका छन्।
एसियाडको पुरूष क्रिकेटमा नेपाली टिम क्वार्टरफाइनलसम्म पुगे थियो। भारतसँग २३ रनको झिनो अन्तरले पराजित भएपछि नेपाल एसियाडबाट बाहिरिएको थियो।
नेपालले समूह चरणका खेलमा मंगोलियाविरुद्ध २७३ रन र माल्दिभ्सविरुद्ध १३८ रनको फराकिलो जित निकालेको थियो।
यो वर्ष नेपाली टोलीले राम्रो एक्सपोजर पाएको छ। यसअघि श्रीलंका र पाकिस्तानमा भएको एसिया कपमा पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो।
समूहमा पहिलो पटक विश्व वरीयताको शीर्ष टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग नेपालले प्रतिस्पर्धा गरेको थियो।
पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग डकवर्थ लुइसको नियमका आधारमा १० विकेटले पराजित भएको थियो।
Shares
प्रतिक्रिया