ad ad

खेल


रेलिगेसनको जोखिममा एपीएफ

रेलिगेसनको जोखिममा एपीएफ

लक्ष्मी जि.सी
माघ १४, २०७६ मंगलबार ११:५२,

घरेलु लिगमा प्रायः राम्रो प्रदर्शन गर्दै आएको विभागीय टोली एपीएफ क्लबले यो वर्ष निराशाजनक प्रदर्शन गरेको छ। काठमाडौँमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणको खेल सक्दा एपीएफको एउटै लक्ष्य छ, रेलिगेसनबाट बच्ने।

गत संस्करणमा एपीएफले पाँचौै स्थानमा रहेर लिग टुङ्ग्याएको थियो। ७ खेलमा जित हात पार्दा उसले २ मा बराबरी र ४ खेलमा हार बेहोर्दै २३ अंक जोडेको थियो। तर, यसपटक एपीएफ ‘रेलिगेसन जोन’ मा छ।

१४ मध्ये शीर्ष ६ मा अटाउँदै आएको एपीएफ यो वर्ष अंक तालिकाको पुछारबाट दोस्रोमा छ। सबैभन्दा पुछारमा सरस्वती युथ क्लब छ।

मगंलबार भएको खेलमा सरस्वती युथ क्लबले लिगको पहिलो जित हात पारेसँगै एपीएफमाथि दबाब बढेको प्रशिक्षक राजेन्द्र तामाङले बताए। मगंलबार एपीएफले हिमालयन शेर्पालाई ४–३ गोल अन्तरले हराएको थियो।

‘अबको हाम्रो लक्ष्य रेलिगेसनबाट बच्ने हो,’ प्रशिक्षक तामाङले भने।

उनले खेलाडीमा लगानी गर्न नसक्दा टोलीको प्रदर्शन कमजोर भएको बताए।

‘सबैभन्दा पहिला आर्थिक पक्ष महत्वपूर्ण भएर आउँछ, हामीले राष्ट्रिय स्तरका राम्रा खेलाडी भित्र्याउन नखोजेका पनि होइनौ तर उनीहरुले महंगो पारिश्रमिक मागेपछि हामीले ल्याउन सकेनौँ। मध्यमस्तरका खेलाडीबाट राम्रो प्रदर्शन भएन। खेलाडीमाथि लगानी गर्न सकिएको छैन। त्यसैले लिगमा यस्तो नतिजा आएको हो,’ उनले भने, ‘अहिले हामीसँग राम्रा खेलाडी छैनन्, आशिष लामा र राजीव लोप्चन नै हाम्रा मुख्य हतियार हुन्। उनीहरुबाहेक हामीसँग राम्रा खेलाडी छैनन्।’

लिगमा अनुभव नभएका खोलडीका कराण प्रदर्शन कमजोर भएको उनले बताए। लिगमा एपीएफले अझै बलिया टोलीसँग खेल्न बाँकी नै छ। त्यसैले पनि एपीएफ रेलिगेसनबाट कसरी बच्न सकिन्छ भन्ने योजनामा छ।

अब ४ वटा खेल लगातार जित्न सके मात्रै एपीएफ रेलिगसनबाट बच्ने उनको भनाइ छ। ‘सरस्वतीले जितेमा हामीलाई पक्कै पनि दबाब हुन्छ, उसले हारेमा केही राहत हुन्छ,’ उनले भने, ‘तर खेल हो, कतिबेला के हुन्छ भन्न सकिदैँन।’

उपाधि होडबाट बाहिरियौं : थ्रीस्टार प्रशिक्षक
ए डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधि दाबेदारका रुपमा हेरिएको मछिन्द्र क्लबसँग रुस्लान थ्रीस्टार क्लब सोमबार २–० ले स्तब्ध भयो। खेलपछि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले मछिन्द्रसँगको हारले आफूहरु उपाधि होडबाट बाहिरिएको बताएका छन्। थ्रीस्टारलाई हराएको मछिन्द्र शीर्ष स्थानमा फर्किएको छ।

४ खेलमा जित, २ मा बराबरी र ३ मा हार भोगेको थ्रीस्टार अंक तालिकाको चौथो स्थानमा छ।

खेलाडीको प्रदर्शन राम्रो भएपनि जित्न नसकिएको प्रशिक्षक केसीले बताए। यस्तै खेललाई निरन्तरता दिन सकेमा आगामी खेलमा सहज हुने उनको भनाइ थियो।

शीर्ष स्थानमा फर्किएको मछिन्द्रले उपाधिमा दाबेदारी बढाएको छ। ६ खेलमा जित, २ मा बराबरी र १ मा हार भोगेको मछिन्द्रको अंक १९ छ। मछिन्द्रले १ खेल कम खेलेको आर्मीलाई २ अंकले पछि पारेको छ।

लिगमा अपराजित रहेको मनाङ मस्र्याङ्दी क्लब १६ अंकमा तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .