ad ad

खेल


प्रतिभाको दृढता- निको भएपछि पुरानै लयमा फर्किनेछु

 प्रतिभाको दृढता- निको भएपछि पुरानै लयमा फर्किनेछु

लक्ष्मी जि.सी
माघ १६, २०७६ बिहिबार १५:०,

घुँडामा गम्भीर चोट लागेपछि राष्ट्रिय महिला भलिबल टोलीकी स्टार प्रतिभा मालीलाई अब लामो समय कोर्टमा देख्न पाइने छैन। यसले निश्चय नै प्रतिभाका समर्थकलाई निरास बनाएको छ। तर, प्रतिभा भने उपचारपछि भलिबलमा फर्कनेमा दृढ छिन्।

गत शुक्रबार आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा एपीएफविरुद्धको फाइनल खेल्मा होंगान्जी न्यु डायमन्ड स्पोर्टस क्लबकी प्रतिभा घाइते भएकी थिइन्। त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना भएकी उनको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ।

उनको घुँडामा खासगरी तीन वटा समस्या देखिएको छ। एसियलको इन्जुरी, मिडियल मेनिस्कस टियर र मिडियल कोल्याटरल इन्जुरी। उनको घुँडा अझै सुन्निएको छ। त्यो कम भएपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले उनलाई बताएका छन्।

Prativaji2

यतिखेर उनलाई एउटै चिन्ताले सताएको छ– शल्यक्रियापछि पहिलेकै अवस्था कसरी फर्किने? शल्यक्रियापछि लामो समय फिजियोथेरापी गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्।

तर, चोट लाग्दा बखत उनी हतास थिइन्। ‘सुरुमा चोट लाग्दा हेल्पलेस महसुस गरेकी थिएँ। तर खेलसँग सम्बन्धित धेरै जना मलाई भेट्न आउनुभएपछि त्यस्तो सोच्न छोडेँ,’ प्रतिभाले अस्पतालको बेडबाट भनिन्, ‘थुप्रै खेलाडीले चोट लाग्दा कसैको साथ नपाएको देखे/सुनेकी थिएँ। आफूलाई पनि त्यस्तै सोच्थेँ। तर मेरो हकमा त्यस्तो भएन। सबैबाट हौसला पाइरहेको छु।’

614A7310.jpg

लामो खेल जीवनमा प्रतिभाले कहिल्यै कोर्टबाहिर बस्नु परेको थिएन। अचानक घाइते भएपछि आफूलाई भलिबलको खुब तिर्सना लागेको बताइन्। ‘खेल्न थालेबाट गत सातासम्म कोर्ट बाहिर थिइनँ। अचानक चोट लाग्यो, अब लामो समय बाहिर हुन्छु। भलिबललाई खुब मिस गरिरहेकी छु,’ उनले भनिन्।

आफू चोटग्रस्त हुँदा क्लबका जुनियर खेलाडीले खेल्ने मौका पाउने उनले बताइन्। ‘क्लब र जुनियर खेलाडी दुवैका लागि यो एउटा राम्रो गर्ने चुनौतीसँगै अवसर पनि हो,’ प्रतिभाले भनिन्।

९ महिना कोर्टबाहिर
उपचारमा संलग्न चिकित्सकले उनी कम्तीमा ९ महिना कोर्ट बाहिर रहनुपर्ने बताएका छन्। शल्यक्रिया र त्यसपछिको रिह्याब उनका लागि बढी महत्वपूर्ण छ। तर, यसले उनको हौसला कम गरेको छैन। पुरानै लयमा फर्किन आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ।

‘९ महिना कोर्टबाट बाहिर बस्नु सानो कुरा होइन। अनि लामो समयपछि मैदान फर्कंदा पक्कै पनि मलाई गाह्रो हुन्छ नै। नियमित जस्तो हुँदैन,’ उनले थपिन्, ‘तर राम्रो अभ्यास गरेर फेरि पुरानै अवस्थामा फर्कनेमा म आफ्नो तर्फबाट पुरै प्रयास गर्नेछु।’

प्रतिभा न्यु डायमन्डकी मात्र होइन राष्ट्रिय टोलीका लागि पनि महत्वपूर्ण सदस्य हुन्। उनी सम्मलित टोलीले कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो। त्यस्तै दुई महिनाअघि स्वदेशमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो। त्यो रजत साग इतिहासमै नेपालका लागि पहिलो थियो।

प्रतिभा पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको नियमित सदस्य हुन्। स्नातक तहमा अध्ययनरत प्रतिभाले १ कक्षादेखि १० कक्षासम्म न्यु डायमण्ड एकेडेमीमा पढिन्। भलिबल खेल पनि उनले त्यहीँ सिकिन्। उनी आफूलाई न्यु डायमन्डबाट अलग राख्न चाहन्नन्। अन्यत्रबाट प्रस्ताव आउँदा पनि खेल जीवनलाई न्यु डायमन्डबाटै अघि बढाउने उनको योजना छ।

614A7294.jpg

‘आज म जे छु, न्यु डायमन्डका कारण छु। सायद म यो स्कुलमा थिइनँ भने भलिबलमा नहुन पनि सक्थेँ,’ प्रतिभाले पटक पटक भन्दै आएकी छन्, ‘जहिलेसम्म खेल्न सक्छु, यहीँबाट खेल्छु भन्ने सोच छ।’

कुनै समयकी चर्चित खेलाडी रमिला तण्डुकार, नेपाल एपीएफ एवम् राष्ट्रिय टोलीका नियमित सदस्य रेश्मा भण्डारी, सेनाको सेकेन्ड लेफ्टिनेन्टमा छनोट भएकी कृपा अधिकारी न्यु डायमन्डकै उत्पादन हुन्। रमिला अहिले अमेरिका बस्छिन्। न्यु डायमन्डबाटै उदाएकी सलिना श्रेष्ठ पनि अहिले प्रतिभासँगै राष्ट्रिय टोलीमा छिन्।

व्यवसायिक रुपमा तेस्रो पटक माल्दिभ्स खेल्न गएकी प्रतिभा त्यस्तो अवसरमा अझ बढी सिक्न पाइने सुनाउँछिन्। गत वर्ष नेदरल्यान्ड्समा समेत भलिबलको प्रशिक्षण गरेकी प्रतिभाले त्यहाँको पूर्वाधार र सुविधा देखेपछि निकै निरास भएको बताएकी थिइन्।

भलिबलमा प्रतिभाको अनुपस्थितिले नेपाललाई घाटा हुने न्यु डामयण्डका मुख्य प्रशिक्षक कुमार राई बताउँछन्।

‘प्रतिभा कोर्टबाहिर हुँदा क्लबलाई मात्र हैन नेपाललाई ठूलो क्षति पुग्छ,’ उनले भने, ‘हामीलाई ठूलो क्षति भएको छ। प्रतिभा मुख्य हतियार हुन्, अब हतियार नै नहुँदा कस्तो होला?’

अबको एक वर्षमा प्रतिभाजत्तिकै खेलाडी उत्पादन गर्ने संकल्प प्रशिक्षक राई गरे। ‘उनको स्थान त कसैले लिन सक्दैन तर पनि हामी प्रयास गर्नेछौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .