ad ad

खेल


पोखरामा विश्वकप प्याराग्लाइडिङ आयोजना हुँदै

पोखरामा विश्वकप प्याराग्लाइडिङ आयोजना हुँदै

वाशुदेव मिश्र
माघ १९, २०७६ आइतबार ११:४६,

 पोखरामा आउँदो फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वर्ल्डकप– एसियन टुर २०२० तथा १९ औँ नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ।

खेल पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वर्ल्डकप गर्ने तयारी गरिएको हो। यसअघि पोखरामै दुईपटक प्रि– वर्ल्डकप प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना भइसकेको छ।

प्याराग्लाइडिङ वर्ल्डकपमा ३० राष्ट्रका १ सय २५ पाइलटको सहभागिता रहनेछ। नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम तथा चाइनिज ताइपेइबाट पाइलटहरुको सहभागिता रहने प्रतियोगिता संयोजक योगेश भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाइलटले प्रतिस्पर्धामा सहभागिता जनाउन आफनो नाम दर्ता गरिसकेका छन्। तर, पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण फैलिँदै गएको अवस्थामा चीनका पाइलटको सहभागितामा प्रश्नचिन्ह खडा भएको छ। ‘चीनियाँ पाइलटले क्यान्सिल गरिसकेको जानकारी आएको छैन’, उनले भने, ‘अन्तिमसम्म निर्णयको प्रतीक्षामा छौं। अहिलेसम्म कन्फर्मकै अवस्था छ।’

वर्ल्डकपमा सहभागी हुने पाइलटले एफएआई (फेडेरेसन एरोनोटिक इन्टरनेसनल)बाट लाइसेन्स प्राप्त प्यारा पाइलटले मात्रै सहभागिता जनाउने पाउने उनले बताए। नेपाली सेनाका पाइलट सागर जलारीले प्रतिस्पर्धा गर्नेछन्।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाइडिङतर्फ चासो दिँदै आएको छ। प्रतियोगिता एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुने छ। क्रसकन्ट्रको लागि ७ टास्क पुूरा गर्नुपर्छ। फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतिस्पर्धाको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एउटै दिनमा पाइलटले पुरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए। उनी २०१८ मा इन्डोनेसियमा आयोजित एसियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जित्दा कप्तानी भूमिकामा थिए।

वर्ल्डकपका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको सहकार्य रहनेछ। पाइलटको उद्दार एवं सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ। प्रत्येक दिनको टास्क पूरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने संयोजक भट्टराईले जनाए।

प्रतिस्पर्धामा ओभरअल च्याम्पियनसिप खेलाडीसँगै दशौंस्थानसम्म आउने खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ। महिलातर्फको विजेता एवं पाँचौसम्म आउने पाइलटको हकमा पनि ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

नेपाल हवाई खेलुकद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले हवाई रुट पर्ने ठाँउहरुमा समेत टास्क उडान गर्नुपर्ने भएकोले नागरिक उडड्यन प्राधिकरण समक्ष निवेदन दिइएको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .