ब्राजिलका महान् फुटबलर पेलेले युवा उमेरमा खेलेको ब्राजिलियन क्लब पहिलो डिभिजनबाट सान्तोस रेलिगेसनमा परेको छ।
१११ वर्ष लामो इतिहासमा पहिलो पटक सान्तोस रेलिगेसनमा पर्दा उसका समर्थकहरूबीच मैदानमै रुवाबासी भएको छ।
रेलिगेसनमा परेको यो क्लबमा पेलेपछि अर्का चर्चित फुटबलर नेयमारले पनि खेलेका थिए। नेयमार यही क्लबमा खेलेपछि युरोपियन फुटबल यात्रामा निस्केका थिए।
ब्राजिलियन सिरि ए लिगको बिहीबार घरेलु मैदानमै भएको अन्तिम चरणको खेलमा सान्तोष फोर्टालेजासँग २-१ ले पराजित भएको हो।
यो सिजन खराब लयबाट गुज्रिएको सान्तोस इतिहासमै पहिलो पटक रेलिगेसनमा पर्दा उसका समर्थकहरू स्तब्ध भएका छन्।
आफ्नो क्लब रेलिगेसनमा गएपछि सान्तोसका समर्थक प्रदर्शनमा उत्रिए। उनीहरुले प्रहरीसँगको झडपमा कारसहितका साधन जलाइदिएका छन्।
दिवंगत ब्राजिलियन लिजेन्ड पेलेले खेलेपछि यो क्लब विश्वव्यापी चर्चामा आएको थियो। यो क्लबको सुनौलो समयका रुपमा सन् १९५० देखि १९६० को दशकलाई लिइन्छ। त्यसबेला क्लबले १० स्टेट र ६ पटक ब्राजिलियन लिग जितेको थियो।
सान्तोसले कोपा लिबेरटाडोरेस, दक्षिण अमेरिकी च्याम्पियन्स लिग सन् १९६२ र १९६३ मा जितेको थियो। एक वर्षबीचमा दक्षिण अमेरिकाका ठूला उपाधि जित्दै सान्तोसले त्यस समय सनसनी मच्चाएको थियो।
Shares
प्रतिक्रिया