एभीएम टेबलटेनिस क्लब पहिलो संस्करणको स्ट्याग ग्लोबल टेबल टेनिस लिगको च्याम्पियन बनेको छ।
शनिबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एभीएमले नेपाल प्रहरी क्लबलाई ८–६ ले पराजित गर्दै उपाधि जितेको हो।
एभीएम टिममा रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी (भारत) कौसनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई थिए।
प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) थिए।
पुरुष सिंगल्समा एभीएमका अंकुरले प्रहरीका संयोगलाई ११–५, ११–७ र ११–६ ले पराजित गर्दै ३ अंक बटुले। महिलातर्फ प्रहरीकी सागरिकाले एभीएमकी कौसनीलाई ११–९, ११–८ र १०–११ हराउदै प्रहरीका लागि २ अंक जोडिन्।
दोश्रो सिंगल्सको समाप्तिमा एभीएमले ४–२ को अग्रता बनाएको थियो।
मिक्स डबल्समा एभीएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११–८, ३–११ र ११–८ ले पाखा लगाए। मिक्स डबल्सको समाप्तिमा एभीएम ६–३ ले अघि रह्यो।
समग्रमा तेश्रो र दोश्रो पुरुष सिंगल्समा प्रहरीका जुविनले एभीएमका रुविनलाई ११–९, ११–५ र ११–७ ले हराउदै महत्वपूर्ण ३ अंक जोडे र खेललाई ६–६ को बराबरीमा पुर्याए।
निर्णायक महिला सिंगल्समा एभीएमकी इभाना थापा मगरले नौं पटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवीतालाई ११–९ र ११–८ ले स्तब्ध पार्दै एभीएमलाई उपाधि दिलाइन्।
विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ हात पारेका छन्। तेश्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५० हजार रुपैयाँ प्राप्त गरे।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्सको व्यवस्थापन भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए।
Shares
प्रतिक्रिया