नेपाली महिला भलिबल स्टार प्रतिभा मालीको घुँडाको शल्यक्रिया सफल भएको छ। प्रतिभाको बायाँ घुँडाको आइतबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।
सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घुँडाकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुँडाको शल्यक्रिया गरेका थिए। शल्यक्रिया गर्न करिब ४ घण्टा समय लागेको थियो। डा. श्रेष्ठले अप्रेसनअघि एमआरआई रिपोर्टमा प्रतिभाको घुँडामा तीनवटा मुख्य समस्या रहेको बताएका थिए।
बाहिरबाट हेर्दा ठीकै देखिए पनि क्लिनिकल्ली रुपमा प्रतिभाको घँुडाको एसिएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी देखिएको थियो। डा. श्रेष्ठले अप्रेसन योजनाअनुरुप नै भएको र उनलाई पुरानै अवस्थामा खेलमा फर्किन ९ महिनासम्म लाग्ने बताएका छन्। अब प्रतिभा नियमित रुपमा रिह्याबमा व्यस्त हुनेछिन्।
प्रतिभा गत १० माघमा पाँचौँ संस्करणको आरबीबी एनभीए क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन्।
नेपालले कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलोपटक रजत पदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन्।
प्रतिक्रिया