रेबेका वेल्चले प्रिमियर लिगको खेलमा रेफ्री गर्ने पहिलो महिला बनेर शनिबार राति इतिहास रचेकी छिन्।
४० वर्षीया रेबेकाले गएराति फुलहाम र वर्नलीबीचको खेलमा रेफ्री गर्दै प्रिमियर लिग खेलाउने पहिलो महिला बनेकी हुन्।
गएरातिको खेलमा वर्नलीले फुलहामलाई २–० ले पराजित गरेको थियो।
यसअघि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई १–० ले पराजित गर्दा वेल्च फोर्थ अफिसियल रहेकी थिइन्।
फोर्थ अफिसियल रहेसँगै उनले पहिलो महिलाको रुपमा रेकर्ड बुकमा आफ्नो नाममा लेखिसकेकी थिइन्।
वेल्च दुई वर्षअघि नै इएफएल खेल खेलाउने पहिलो महिला पनि थिइन्। गत वर्ष जनवरीमा पुरुष एफए कप फिक्स्चरको जिम्मेवारी लिने उनी पहिलो महिलासमेत हुन्।
वेल्चले महिला र पुरुषका दुवै खेलमा सबैभन्दा धेरै आशाजनक अधिकारीहरूमध्ये एकको रुपमा ख्याति स्थापित गरिसकेकी छिन्।
वर्नलीका म्यानेजर भिन्सेन्ट कोम्पनीले उनलाई बधाई दिँदै भने, 'यो ठूलो क्षण हो। खेलपछि यो एक कोशेढुङ्गा हो।'
वेल्च दुई वर्षअघि इङ्ल्याण्डमा व्यवसायिक खेलको जिम्मा लिने पहिलो महिला रेफ्रीसमेत थिइन्। उनले महिला विश्वकपका धेरै खेलमा अफिसियलको भूमिका पनि निभाएकी छिन्।
Shares
प्रतिक्रिया