साविक विजेता काठमाडौ रेञ्जर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको एलिमिनेटर खेलमा काठमाडौंलाई ३–० गोल अन्तरले हराउँदै ललितपुर लगातार दोस्रो पटक क्वालिफायरमा पुगेको हो।
यससँगै ललितपुरले अघिल्लो संस्करणमा काठमाडौंसँग भोगेको हारको बदला समेत लिएको छ। अघिल्लो सिजन दोस्रो क्वालिफायरमा काठमाडौंले ललितपुरलाई ३–० गोल अन्तरले नै हराएको थियो।
ललितपुरले अब दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सको सामना गर्नेछ। पहिलो क्वालिफायरमा धनगढी एफसीसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदा पोखराले दोस्रो क्वालिफायर खेल्नु परेको हो।
दोस्रो क्वालिफायरको विजेताले दोस्रो संस्करणको एनएसएलको उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ। काठमाडौं एलिमिनेटरबाटै बाहिरिएपछि यो संस्करणको एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का भएको हो।
खेलको पहिलो हाफमा २–० को अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा १ गोल थप्यो। ललितपुरको जितमा इमो इजेकिलले दुई तथा पापा इबोउ केडेले एक गोल गरे।
खेलको ७४ औं मिनेटमा काठमाडौं १० खेलाडीमा सिमित भयो। कप्तान अन्जल राई दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडे।
अन्जलले ललितपुरका फरवार्ड पापालाई खराब ट्याकल गरेपछि रेफ्रि राम दसनले दोहोरो पँहेलो कार्ड देखाएका थिए। अन्जलले दोस्रो हाफमा नै दोहोरो पँहेलो कार्ड खाएका हुन्।
६२ औं मिनेटमा काठमाडौका सोखरुकको फ्रिकीक क्रसबारको माथिबाट आकासियो। ५९ औं मिनेटमा निखिलको क्रसमा पापाको हेडर काठमाडौका गोलरक्षकले सहजै जोगाए।
५३ औं मिनेटमा ललितपुरले काठमाडौंविरुद्ध ३–० ले अग्रता बनायो। निखिल सुरेसराओको फ्रिकीकमा इमोनको हेडर सिधै गोलमा परिणत भयो।
पहिलो हाफको इन्ज्युरी समयमा इमोको प्रहार सेकेण्डबारको नजिकबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो।
खेलको ४४ औं मिनेटमा ललितपुरले अग्रता दोब्बर पार्यो। निखिलको कर्नरका अनन्त तामाङको हेडर काठमाडौंका नियाले क्लीयर गरेपनि पापा केबेको गोलमा ललितपुरले अग्रता दोब्बर पारे।
४३ औं मिनेटमा आदित्य शाक्यको क्रस काठमाडौका गोलरक्षक अन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। ३९ औं मिनेटमा काठमाडौंका
सोखरुखको फ्रिकिक सिधै ललितपुरका गोलरक्षकको हातमा पुग्यो।
३७ औं मिनेटमा ललितपुरले काठमाडौं विरुद्ध अग्रता बनायो। पापा ओबोउको प्रहार काठमाडौंका डिफेन्डरले क्लीयर गर्न नसकेको बललाई इमोनले पोष्टको दिशा दिए।
२७ औं मिनेटमा नियाको फ्रिकीक ललितपुरका कप्तान अनन्त तामाङले क्लीयर गरे। २३ औं मिनेटमा निखिल सुरेशराओ कदमको फ्रिकीक काठमाडौंका आन्द्रस नियाले क्लीयर गरे।
खेलको ११ औं मिनेटमा इमो इजेकिलको क्रसमा दिनेश हेन्जनको प्रहार पोष्टको नजिकबाट बाहिरिदा ललितपुरले आग्रता बनाउने मौका गुमायो।
Shares
प्रतिक्रिया