ad ad

खेल


अमेरिकी पत्रकार भन्छन्: क्रिकेटरलाई नेपालीकाे माया अदभूत

अमेरिकी पत्रकार भन्छन्: क्रिकेटरलाई नेपालीकाे माया अदभूत

लक्ष्मी जि.सी
माघ २३, २०७६ बिहिबार १२:२४,

इएसपीएन क्रिकइन्फोका लागि क्रिकेटसम्बन्धी रिपोर्टिङ गर्ने अमेरिकी पत्रकार पिटर डेला पेना नेपाललगायत विभिन्न मुलुकको क्रिकेटबारे निरन्तर लेखिरहन्छन्। नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनीबारे समाचार तथा टिप्पणी लेख्न प्रायः छुटाउँदैनन् उनी। नेपालमा हुने घरेलु प्रतियोगिताहरु पनि अध्ययन गरिरहने उनी हरेक नेपाली क्रिकेटरको व्यक्तिगत प्रदर्शनबारे समेत जानकार छन्। हाल नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुरमा जारी त्रिकोणात्मक एकदिवसीय खेलको रिपोर्टिङ गर्न काठमाडौं आइपुगेका पिटरसँग खेलमैदानमै गरिएको कुराकानीः

तपाईं नेपाली क्रिकेटलाई वर्षौदेखि नजिकैबाट नियाली रहनुभएको छ, हालैका वर्षहरुमा नेपाली क्रिकेट जुनरुपमा अगाडि बढिरहेको छ, यसमा तपाईंको विश्लेषण के छ?
मलाई लाग्छ नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय हिसाबमा राम्रो प्रगति गरिरहेको छ। नेपाल अन्तर्राष्ट्रिय स्तरमै राम्रो छाप छोड्न सफल छ। सबैभन्दा अद्भुत पक्ष नेपालीहरु आफ्ना खेलाडीलाई निकै माया र सम्मान गर्छन्। आज बुधबार त्रिकोणात्मक क्रिकेटमा नेपाल र ओमानबीच खेल भयो। हजारौं समर्थक आफ्नो टोलीलाई साथ दिन आए। नेपालले पाइरहेको समर्थकको यस्तो लगाव र माया एसोसियट राष्ट्रमा कमै देख्न पाइन्छ। नेपाली समर्थकको मायाका कारण पनि नेपाली क्रिकेट अगाडि बढेको हो।

नेपालमा प्रशासनिक र मन्त्रालयगत हिसाबमा उत्पन्न समस्याले गर्दा नेपाली क्रिकेटको प्रगतिलाई केहि हदसम्म अवरोध पनि गरिरहेको छ। तर कठिन अवस्थामा पनि खेलाडीले थप मिहिनेत गरेको देखिन्छ र उनीहरुले सफलता हात पारेको देखिएको छ। समर्थकको साथ पाएका खेलाडीले राम्रो गरिरहेका छन्, यो गजबको प्रशंसनीय कुरा हो।

नेपाली क्रिकेटरहरुको बलिया पक्षहरु के के हुन् जस्तो लाग्छ?
नेपाली क्रिकेट संस्कार हेर्दा यहाँका खेलाडी खेल मैदानमा हुँदा राम्रो प्रदर्शनमा ध्यान दिन्छन्। बाहिरी वातावरण जस्तो भएपनि उनीहरुले उत्कृष्ट खेलका लागि नै ध्यान केन्द्रित गरेका हुन्छन्। यो नै नेपालको सफलताको बलियो पक्ष हो। त्यसबाहेक नेपालसँग स्टार स्पिनर सन्दीप लामिछाने छन्। उनले आइपीएल, बिग बास लगायत विश्वका ठूलाठूला लिग खेलिसके। उनको मात्र नाम लिएर नेपाली टोलीको व्याख्या गरिनु अन्यायपूर्ण हुनेछ। सुसान भारीले आज उत्कृष्ट खेले। पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सागर ढकाल, पवन सर्राफ लगायत सबै खेलाडीले गर्दा नेपाली टोली बलियो बनेको हो। टोलीमा स्पिनरको पक्ष राम्रो बन्दै गएको छ। मिडियम पेसमा राम्रो हुँदै गएको छ। सोमपाल कामी आज थिएनन्। उनी पनि अब्बल छन्। नयाँ खेलाडी अभिनाश बोहोरा पनि उत्तिकै प्रतिभाशाली छन्। दिपेन्द्र सिंह ऐरीलाई मैले दुई वर्षदेखि नियालीरहेको छु। उनी नेपालको मात्र नभएर पुरा एसोसियट राष्ट्रहरुकै उत्कृष्ट फिल्डर हुन्। त्यसैले हामीले नेपाललाई ३ अथवा ४ खेलाडीमा निर्भर टोली भन्न मिल्दैन। नेपालसँग सिंगो हतियार छ, जसले जुनसुकै टोलीलाई चुनौती दिनसक्छ।

तपाईंलाई सबैभन्दा बढी प्रभावित पार्ने नेपाली खेलाडी को हो?
पारस खड्का र सन्दीप लामिछाने मलाई मन पर्ने खेलाडी हुन्। तर उनीहरुबाहेकको नाम लिनुपर्दा मलाई दिपेन्द्र सिंह ऐरी निकै मनपर्छ। मलाई लाग्छ दिपेन्द्रले नेपाल बाहिर अवसर पाउने हो भने उनको क्षमता देखेर सबैले प्रशंसा गर्ने थिए। नेपालमा उनको क्षमता लुकेर बसेको छ। मलाई लाग्छ उनी सन्दीप लामिछाने र पारस खड्काको छायाँमा परेका छन्। उनी अन्य कुनै राष्ट्रको भइदिएको भए उनी पहिलो रोजाइका क्रिकेटर हुने थिए। उनमा भएको फिल्डिङ, स्पिन बलिङ र ब्याटिङको क्षमताले राम्रो नतिजा दिनसक्छ। दिपेन्द्र अहिले नेपालका उपकप्तान हुन्। उनले साँच्चै नेपाली क्रिकेटलाई पछि राम्रो नेतृत्व दिनेछन्।

peter with fansकीर्तिपुर मैदानमा नेपाली क्रिकेटप्रेमीहरुसँग पिटर (बीच)। तस्बिर: पिटर डेला पेना/फेसबुक

नेपाली क्रिकेट समर्थकको विषय तपाईं नेपालभित्र र बाहिर बारम्बार उल्लेख गरिरहनुहुन्छ, यो विषयमा तपाईंको भनाइ के छ?
नेपाली समर्थकले क्रिकेट टोलीलाई देखाउने निरन्तरको समर्थन, माया, सम्मान र साथ साँच्चै असाधारण छ। क्रिकेटसँग नेपालीको भावनात्मक सम्बन्ध भएको म देख्छु। अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीको म्याच भइरहेका बेला त्यहाँ २० जना समर्थक उपस्थित छन् भने त्यो अमेरिकी टोलीको लागि खुशीको खबर हो। तर नेपाली टोलीले विश्वको जुनसुकै स्थानमा गएर खेलेपनि त्यहाँ समर्थकको उल्लेखनीय उपस्थित हुने गरेको मैले देखेको छु। नेपालले नेदरल्यान्ड्स, युएइसँग खेल्दा म त्यहीँ थिए। नेपालको धेरै खेलमा म उपस्थित भएको छु। साँच्चै नेपाली समर्थकको उपस्थिती जहाँ गएपनि उत्तिकै हुनेगर्छ। नेपाली खेलाडीले बारम्बार समर्थकले दर्शाएको मायाको बारेमा चर्चा गरिरहन्छन्।

नेपाली क्रिकेटको पूर्वाधार निकै जिर्ण छ। यहाँको क्रिकेटको मुख्य संस्था नेपाल क्रिकेट संघ (क्यान) पनि विवादमा घेरिएको छ। यद्यपी क्रिकेट टोलीले जसोतसो प्रगति गरिरहेको छ। मैदान बाहिरका समस्या बारेमा तपाईंको भनाइ के छ?
यस्तो संक्रमणबाट गुज्रिएको राष्ट्र नेपाल मात्र होइन। अमेरिका, केन्यालगायत अन्य एसोसियट राष्ट्र पनि प्रशासनिक लगायत बाह्य समस्याबाट गुज्रिएका थिए। यस्ता समस्याले क्रिकेटको विकासमा चुनौती थप्छ। यस्तो भइरहन्छ। अरु देशमा जटिल समस्यामा राम्रा खेलाडीले खेल नै छाड्छन् पनि जुन राष्ट्रको लागि घाटा हो। तर नेपाली क्रिकेटरले अस्तव्यस्त समयमा पनि खेलमा देखाएको लगावले आजको परिस्थिती सृजना भएको हो। हामीले नेपाली क्रिकेटरलाई उदाहरण मान्नसक्छौं। अहिले राजधानी काठमाडौं बाहिर पनि क्रिकेटको विकास भाइरहेको देख्न सकिन्छ। चितवन, पोखरा लगायत विभिन्न क्षेत्रमा मैदान बनिरहेका छन्। अब नेपालको क्रिकेट काठमाडौं केन्द्रित छैन। यसले नेपालभरका राम्रा खेलाडी उत्पादनमा टेवा दिनेछ।

पारस खड्काको दशक लामो कप्तानीको बारेमा तपाईंको विश्लेषण के छ? र, उनको सन्यासले आउँदा दिनमा पार्ने सम्भावित असर के हुन सक्छ?
यो सान्दर्भिक प्रश्न हो। पारस खड्का नेपालको महत्वपूर्ण खेलाडी हुन् भन्नेमा कुनै दुईमत छैन। नेपालको प्रत्येक प्रगति र उन्नतीमा उनको योगदान छ। नेपालले विश्वकप खेल्नमा, एक दिवसीय वरियता पाउनेलगायत एकदशकयता जतिपनि प्रगति गरेको छ यसमा पारसको अतुलनीय योगदान छ। उनको कप्तानीको हामीले प्रशंसा गर्नुपर्छ।

कागजातका आधारमा त उनी भर्खरकै देखिन्छन्। ३०–३१ वर्षकै होलान्। तर खेल जीवनका हिसाबले उनले धेरै खेलिसकेका छन् र धेरै योगदान दिइसकेका छन्। हामीले यो भुल्न हुन्न की उनले किशोर अवस्थादेखि नै क्रिकेट खेलेका हुन्। १५–१६ वर्षभन्दा बढी क्रिकेटमा जीवन बिताउनु चानचुने कुरा होइन। जतिसम्म पारसले क्रिकेट खेल्छन् उनले देशका लागि योगदान दिइरहनेछन्। पारस उच्चस्तरको बलिङ गर्छन। शारिरीक चुस्तताको हिसाबले अन्तर्राष्ट्रियरुपमै पारस अत्यन्तै फिट रहने निकै कम खेलाडीमध्येमा पर्छन। त्यसका साथै पारस टिकेर खेल्नसक्छन्। आफूलाई एकै स्थानमा राखिरहने खेलाडीमध्ये पारस पनि एक हुन्। यस्ता विषय आउदा खेलाडीले पारसबाट सिक्नुपर्छ। अहिले नेपाली टिमका लागि अझै पनि उनी अत्यावश्यक खेलाडी हुन्।

क्रिकेटमा उदियमान दुई मुलुकमध्ये नेपाल र अफगानिस्तानलाई लिइन्थ्यो, तर अफगानिस्तानले नेपाललाई पछाडि पारिसकेको देखिन्छ। यसमा तपाईं के भन्नुहुन्छ?
खेलाडीले पाउने अवसर, सुविधा, देशको खेल पूर्वाधारजस्ता विषयले देशको क्रिकेटको उन्नतिमा मुख्य भूमिका खेल्दछ। त्यसबाहेक देशमा राम्रा खेलाडीहरु छन् भने पनि देशको क्रिकेटको विकासमा टेवा पुग्छ। अफगानिस्तानमा बलरहरु उत्कृष्ट छन्। अफगानिस्तान भाग्यमानी छ किनभने उनीहरुसँग धेरै राम्रा बलरहरु छन्। उनीहरुसँग तीव्र बलर पनि उत्तिकै राम्रा छन्। साथै नेपालका खेलाडीले भन्दा अफगानी खेलाडीले राम्रो अवसर र सुविधा पाएका छन्। पारस र नेपालका अरु खेलाडीले पनि राम्रो अवसर र सुविधा पाए भने धेरै राम्रो गर्नसक्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .