युरोपेली मुलुक पोल्यान्डमा रहेका नेपालीको संस्था गोर्खाली वारियर्सले पहिलो 'युनाइटेड युरोपियन गोर्खाली कप' फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शनिबार पोल्यान्डको राजधानी वार्सामा वारियर्सले पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। गोर्खाली वारियर्सका संयोजक सुलभ लामाले युरोपमा बस्ने नेपालीलाई
खेलको माध्यमबाट एकजुट गराउँदै भाइचाराको सम्बन्ध स्थापित गराउने उद्देश्यसहित प्रतियोगिता गर्न लागेको बताए।
उनका अनुसार, फुटबल प्रतियोगितासहित नेपाली कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, नेपाली खाद्य परिकार तथा नेपाली उत्पादनका स्टलसमेत रहनेछन्। संयोजक लामाले भने, 'यो केवल एक फुटबल प्रतियोगिता मात्र होइन, साथमा नेपाली मौलिक कला र संस्कृतिको प्रवर्द्धन तथा संवर्द्धन पनि हामी समानान्तर रूपमा गर्ने प्रयासमा छौं।'
युरोपका विभिन्न २५ नेपाली फुटबल क्लब सहभागी हुने प्रतियोगिता सेभेन 'ए' साइड हुनेछ। प्रतियोगिता पोल्यान्डको राजधानी वार्सास्थित ओब्रोकाओ तुब्रुकु ११ को बेमोभस्की फुटबल सेन्टरमा आगामी जुलाई ६ र ७ मा हुनेछ।
प्रतियोगिताको विजेता टोलीले ५ हजार ५ सय युरो (लगभग ८ लाख नेपाली रुपैयाँ) तथा गोल्ड ट्रफी पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले २ हजार युरो तथा ट्रफी र तेस्रोले १ हजार युरो तथा ट्रफी र सर्वोत्कृष्ट विधाका खेलाडीले थप पुरस्कार प्राप्त गर्ने आयोजकले घोषणा तथा पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
Shares
प्रतिक्रिया