ad ad

खेल


भरतको कीर्तिमानी ५०औं गोल छोरी स्वर्णिकालाई समर्पण

भरतको कीर्तिमानी ५०औं गोल छोरी स्वर्णिकालाई समर्पण

लक्ष्मी जि.सी
माघ २८, २०७६ मंगलबार ११:४३,

सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले एक गोल गरे। यससँगै उनले लिगमा गोलसंख्या ५० पुर्‍याएका छन्।

एन्फा मैदान, सातदाेबाटाेमा ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलमा उनले ५०औं गोल गरेका हुन्। यस्तो कीर्तिमान कायम गर्ने उनी सातौँ खेलाडी बनेका छन्।

खेलको पाँचौ मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा हेडर गोल गर्दै उनले आफ्नो खेलजीवनको कोशेढुङगा हासिल गरेका हुन्। भरतको गोलमा खेलमा अग्रता बनाउँदै सो खेल आर्मीले ३–० ले आफ्नो पक्षमा पार्‍यो।

‘खेलमा गोल गर्न आफैंमा गाह्रो हुन्छ तर टोली, कोचिङ स्टाफ, म्यानेजमेन्ट र फुटबलप्रेमीको मोटिभेसन र सहयोगले नै यो सम्भव भएको हो,’ कप्तान भरतले भने, ‘यो गोल म मेरी छोरी स्वर्णीका खवासलाइ समर्पित गर्न चाहन्छु। लिगका सबै खेलमा छोरी र श्रीमती आउँथे तर आजको यो महत्वपूर्ण खेलमा भने सहभागी हुन सकेनन्। दुःख लागेको छ। सायद छोरी आएको भए आज उनलाई खेलमैदानमैं लिएर समर्पित गर्थें, तर त्यो हुन सकेन।’

लिगमा ५० गोल उनको अन्तिम नभई, १०० गोल गर्नु मुख्य लक्ष्य भएको उनले बताए। ‘सन्तोष (साहुखल) दाइले १ सय गोल पुरा गर्नुभयो। मलाई थाहा छ त्यो भेट्न निकै गाह्रो हुन्छ। तर पनि म त्यो लक्ष्य हासिल गर्ने कोशिस गर्नेछु।’

Bharat Khawas 1५० गाेल पुरा गरेकाे सन्दर्भमा उनलाई खेल मैदानमैं फूलगुच्छाहरुले सम्मानित गरिएको थियो।  तस्बिर: एन्फा

सन्तोषले यसै लिगमा नै १०० गोलको कोशेढुङ्गा पार गरेका थिए। पुस २३ गते नेपाल पुलिस क्लव विरुद्धको खेलमा १७औं मिनेटमा गोल गर्दै सन्तोषले १ सयौं गोल गरी सो लक्ष्य हासिल गर्ने पहिलो कीर्तिमानी नेपाली खेलाडी बनेका हुन्।

उनको अर्को लक्ष्य राष्ट्रिय टोलीबाट नेपाली पुरुष खेलाडीले बनाएको १३ गोलको कीर्तिमान तोड्नु हो। १४ गोल गर्ने वा टोलीलाई लिग च्याम्पियन बनाउनेमध्ये उनका लागि कुन लक्ष्य बढि महत्वपूर्ण भन्ने जिज्ञासामा उनी हास्दै भन्छन्, ‘आर्मीलाई लिग जिताउने।’

‘मान्छेलाई पूर्ण सन्तुष्टि भन्ने कुरा त हुदैन। ५० गोल मेरो मुख्य लक्ष्य हैन,’ कप्तान भरतले भने, ‘मेरो लक्ष्य राष्ट्रिय टोलीको १३ गोल तोड्ने हो। बीचमा आर्मीको तालिमका कारणले पनि खेल्न सकिन। त्यसले अलिक गाह्रो भयो।’ भरतले त्यो रेकर्ड तोड्नेमा आत्मविश्वास भने व्यक्त गरे।

यसपटक लिग जित्नबाट एक कदम मात्र टाढा रहेको आर्मीको टोलीका लागि कप्तान र सिनियर खेलाडीका हिसाबले आफ्नो महत्व कति छ भन्ने उनले बुझेका छन्। अहिले उनको एउटै सपना छ– आर्मीलाई लिग च्याम्पियन बनाउने। त्यसमैं आफूले अर्जुनदृष्टि केन्द्रित गरेको उनले दोहोर्‍याए।

‘एकपटक आर्मीलाई च्याम्पियन बनाउन पाए मेरो सपना पुरा हुने थियो। यसपटक हामी उपाधिका लागि खेलिरहेका छौं। उपाधि जित्नका लागि हामी हरसंभव प्रयास गरिरहेका छौं। त्यसका लागि म पनि आफ्नो शतप्रतिशत दिदैँछु,’ उनले भने।

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो ब्याचका उत्पादन भरतले २०६३ सालमा संकटा क्लबबाट ए डिभिजन लिगको यात्रा थालेका थिए।

त्यसपछि संकटा, फ्रेण्ड्स र पुलिस क्लव हुँदै उनी सन् २०१२ यता निरन्तर आर्मीबाट खेलिरहेका छन्। २ सिजन पुलिसबाट लिग खेले।

पुलिसबाट खेल्दा एकै सिजनमा १७ गोलसम्म गर्ने भरतले सेनाको टोलीबाट खेल्दा पनि उनले एउटै सिजनमा १६ सम्म गोल गरेको बताए। तर सेनाको पेशागत तालिमलाई समय दिनुपर्दा कुनै वर्ष निरन्तरतामा ‘ब्रेक’ लाग्ने गरेको र त्यसबाट खेलको लय पनि प्रभावित हुने गरेको उनले बताए।

Bharat Khawas 2मंगलबार ५०औं गोल गरेपछि स्यालुट गर्दै भरत खवास र अन्य खेलाडीहरु। 

खेलाडीका लागि सबैभन्दा ठुलो दुश्मन चोट नै भएको बताउँदै उनले बीचमा आफूले पनि चोटकै कारणले धेरै खेलहरुमा सोचे जस्तो प्रर्दशन गर्न नसकेको वा केहि खेल छुटाउनु परेको उनले बताए। तर, खेलजीवनमा आइपर्ने त्यस्ता परिस्थितिले उनलाई पटक्कै निरुत्साहित भने नगरेको उनको भनाइ छ।

‘सबै खेलमा गोल गर्न सकिदैन भन्ने थाहा छ तर थप मेहनत गरिराख्नुपर्छ र गरिरहन्छु’ उनले भने। थप मेहनत गरेर आफ्नो लयमा अझ सुधार गर्ने उनले दृढता व्यक्त गरे।

उनी कहिले हात भाँचिएर लामो समय स्टील राखेर पनि खेले भने कहिले खुट्टाको अप्रेसन त कहिले टाउकोमा टाँका लगाउनु परेको थियो। यी चोटहरुका कारण पनि आफू अलि पछि परेको उनको अनुभुति छ।

लिगमा ५० गोल गर्ने उनी सातौं खेलाडी हुन्। यसअघि बसन्त थापा, रमेश बुढाथोकी, जिवेश पाण्डे, सुरेन्द्र तामाङ, गणेश लावती र सन्तोष साहुखलले लिगमा ५० गोल पुरा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .