नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको गोलमा एन अभान्ट गुएङग्याम्पले फ्रान्सको शीर्ष डिभिजन लिगमा महत्वपुर्ण जित हात पारेको छ।
शनिबार राति भएको खेलमा साम्बा सम्मिलित गुएङग्याम्पले लिललाई २–० ले पराजित गरेको हो। गुएङग्याम्पको जितमा साम्बा र एन्टोइन स्टारोभाले गोल गरे।
फ्रान्सेली लिगमा साम्बाको पहिलो गोल हो। यो खेलका लागि साम्बाले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाएकी थिईन्।
खेलको ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले इन्ज्युरी समयमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।
त्यसअघि खेलको ५२ औँ मिनेटमा एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्।
यो महत्वपुर्ण जितसँगै साम्बाको टोली रेलिगेसन क्षेत्रबाट ७ अंकले माथि छ। १६ खेलबाट १५ अंक जोडेको गुएङग्याम्प अंक तालिकाको नवौँ स्थानमा उक्लेको छ।
Shares
प्रतिक्रिया