नेपाल राष्ट्रिय तथा अन्तर्रािष्ट्रय खेलाडी संघ (एनएनआइपीए) ले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसामु ७ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ।
संघले मंगलबार युवा तथा खेलकुद मन्त्री श्रेष्ठसँग भेट गर्दै बधाइ तथा शुभकामना दिनुका साथै ध्यानाकर्षण पत्र बुझाएको हो। संघका अध्यक्ष दिपक श्रेष्ठ र पदाधिकारीहरुले आज मन्त्रीसँग संयुक्त रुपमा भेट गरेका थिए।
ध्यानाकर्षण पत्रमा खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कार रकम दिने, खेलाडी विदेश पलायन रोक्न ठोस योजना ल्याएर स्वदेशमै रहन सक्ने वातावरण बनाउन मन्त्रीको ध्यानाकर्षण गराएको छ।
यस्तै १० औँ राष्ट्रिय खेलकुद समयमा नै गर्ने सुनिश्चितता गर्न पनि माग गरेको छ।
सुझावहरू :
१. १९ औं एशियाली खेलकुद प्रतियोगिता र चौथो एसियन पारा खेलकुदमा पदक प्राप्त तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीहरूका लागि घोषणा गरिएको पुरस्कार रकम तत्कालै दिने व्यवस्था मिलाइयोस्।
२. राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफलता प्राप्त गरेका खेलाडीहरुलाई संरक्षण गर्न नसक्दा दिनानुदिन विदेश पलायन हुनु पर्ने समस्यालाई निराकरण गर्न तत्काल ठोस योजना बनाई त्यस्ता खेलाडीहरुलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाइयोस्।
३. निजीक्षेत्र अन्तर्गतको सामाजिक उत्तरदायित्व कोष (सिएसआर) मा रहेको रकम खेल क्षेत्रमा प्रयोगमा ल्याउन सकिए नीजि क्षेत्रसमेत खेलकुदमा आकर्षित हुने भएको हुँदा यसले नेपालको खेलकुद क्षेत्रको विकास र विस्तार एवं खेलको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका हुने भएकोले उक्त सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुदमा प्रयोग गर्न आवश्यक व्यवस्था मिलाइयोस ।
४. देशको लागि अन्तर्राष्ट्रिय पदक जितेर कीर्तिमान कायम गर्ने खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति पाए पनि लामो समयदेखि वृत्ति विकास हुन नसकेको हुँदा तत्काल वृत्ति विकास एवम् करारमा रही कार्यरत त्यस्ता खेलाडीलाई उचित व्यवस्थापनसहित स्थायी गरियोस्।
५. राष्ट्रिय संघहरुवाट हुनु पर्ने राष्ट्रिय प्रतियोगिता नियमित हुन नसक्दा खेलाडीहरुको खेल कौशलता, प्रदर्शन तथा स्तर वृद्धिमा देखिने समस्यालाई निराकरण गर्न राष्ट्रिय खेलकुदनै कुर्नुपर्ने अवस्था भएको हुँदा आउँदै गरेको १०औं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता घोषणा भएको समयमा नै आयोजना गर्ने सुनिश्चितता गरियोस्।
६. खेलकुद विकास ऐन, २०७७ मा खेलाडीलाई सामाजिक सुरक्षाको प्रत्याभुति हुने भन्ने व्यवस्था भएता पनि हालसम्म खेलाडीहरुले महसुस गर्न नसकेको हुँदा ऐनमा उल्लेख भए अनुसारको सामाजिक सुरक्षाको व्यवस्था गरियोस।
७ . खेलाडी कल्याण कोषमा हाल १ करोड ५० लाखको अक्षयकोष रहेकोमा नियमित रुपमा वार्षिक २० लाखको अक्षयकोष फण्ड वृद्धि गर्ने व्यवस्था मिलाइयोस।
Shares
प्रतिक्रिया