आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा चन्द्रागिरी न्यू डायमण्ड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एभरेस्टले पुलिस क्लबसँगको भेट पक्का गरेको हो।
राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेस्टले न्यु डायमण्डलाई २५–२०, २५–१२ र २५–१८ ले पराजित गरेको हो।
यससँगै जारी प्रतियोगितामा एभरेष्ट र पुलिस क्लब दोस्रो पटक भिड्ने भएका हुन्। फाइनलमा एभरेष्ट पुलिससाग बदला लिने प्रयासमा हुनेछ।
यसअघि समुह चरणमा भएको भेटमा पुलिस क्लबले एभरेस्ट क्लबलाई ३–२ को सेटमा पाखा लगाएको थियो।
तेस्रो स्थानका लागि शुक्रबार एपीएफ क्लब र न्यू डायमण्ड भिड्नेछन्।
बिहीबार नै भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा पुगेको थियो।
राखेपकै कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुुलिस क्लब उपाधि नजिक पुगेको हो।
पुलिस क्लबले एपीएफलाई २७–२५, २५–२२, ३०–२८ र २५–१७ ले आफ्नो पक्षमा पारेको हो। पहिलो र दोस्रो सेट लगातार आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट भने गुमाउन पुग्यो।
तेस्रो सेटमा ३०–२८ को रोमाञ्चक जित एपीएफले त्यसपछिको सेट भने गुमाउन पुग्दा फाइनल पुग्ने अवसर गुमाएको हो। चौथो सेटमा पुलिस क्लबले २५–१७ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुगेको हो।
प्रतियोगितामा बिहीबार नै पुरुषतर्फका दुई क्वार्टरफाइनल खेल हुनेछन्।
पुरुषतर्फको तेस्रो क्वार्टरफाइनलमा नेपाल पुलिस र कोशी प्रदेश भिड्नेछन्। अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन्।
बुधबार भएको खेलमा टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।
दुवैतर्फको उपाधि विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
Shares
प्रतिक्रिया