पाँच पटकको विजेता बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अग्रता बनाएको छ।
बुधबार राति पीएसजीको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले ३–२ को जित निकालेको हो।
बार्सिलोनाको जितमा राफिन्हाले दुई तथा आन्द्रयास क्रिस्टियन्सनले एक गोल गरे। खेलको ३७ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको पीएसजीले दोस्रो हाफमा अग्रता बनाएपनि त्यसलाई कायम राख्न नसक्दा घरेलु मैदानमा नै हार भोग्न बाध्य भयो। खेलको ४८ औँ मिनेटमा उसमान डेम्बेलेको गोलमा पीएसजी खेलमा फर्किएको थियो।
५१ औँ मिनेटमा भिटिन्हाको गोलमा पीएसजीले खेलमा २–१ ले अग्रता बनायो। तर खेलको ६२ औँ मिनेटमा राफिन्हाको व्यक्तीगत दोस्रो गोलमा बार्सिलोना बराबरीमा आयो।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टियनले खेलको ७२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलमा थप गोल हुन सकेन। क्वार्टरफाइनलको दोस्रो लेग अप्रिल १६ मा स्पेनमा हुनेछ।
Shares
प्रतिक्रिया