ad ad

खेल


साम्बा र अनिताको आईलिग अनुभव : सेमिफाइनलमा झुक्कियौँ

साम्बा र अनिताको आईलिग अनुभव : सेमिफाइनलमा झुक्कियौँ

लक्ष्मी जि.सी
फागुन ५, २०७६ सोमबार ११:४७,

नेपाली महिला राष्ट्रिय टोलीका दुई महत्वपूर्ण सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय महिला लिग खेलेर सोमबार फर्किए। महिला लिगमा सावित्रा भण्डारी साम्बा सम्मिलित टोली गोकुलम केरला एफसी च्याम्पियन बन्यो।

अनिता सम्मिलित सेथु एफसी भने सेमिफाइनलबाट अघि बढ्न सकेन। फाइनलमा साम्बाको निर्णायक गोलमा गोकुलमले क्रिप्सा एफसीलाई ३–२ अन्तरले पराजित गर्दै पहिलोपटक उपाधि उचालेको हो।

यो पटक टोलीलाई च्याम्पियन बनाउँदा व्यक्तिगत रुपमा सावित्रा सर्वाधिक गोलकर्ता बनिन्। छनोट चरणको १ सहित ८ खेलमा १९ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बन्दै भारतीय १ लाख रुपैयाँ प्राप्त गरिन्। गत संस्करण सेथुबाट खेल्दा उनले १५ गोल आफ्नो नाममा लेखाएकी थिइन्।

sa aa 2

गत संस्करण पनि साम्बा सम्मिलित सेथु एफसीले उपाधि जितेको थियो। गत वर्ष दुवै जनाले सेथु एफसीबाट खेलेका थिए। यो वर्ष फरक क्लबबाट खेलेका दुवै जना पहिलो रोजाइमा मैदान उत्रेका थिए।

लिग सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भनिन्, ‘मैले जाने बेलामा जे भनेर गएको थिएँ, त्यो पूरा भएको छ।’

भारत खेल्न जानुअघि उनले सेथुलाई जस्तै योपटक गोकुलमलाई च्याम्पियन बनाउने सोचिसकेकी थिइन्। 

‘सपना पूरा भयो’
गत संस्करणमा पनि सावित्राले सर्वाधिक गोलकर्ताका लागि संघर्ष गरेकी थिइन् तर त्यो पूरा हुन सकेन। त्यसैले पनि उनी यो पटक त्यो लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ भन्नेमा थिइन्।

sabitra collage

‘पहिले राम्रो प्रदर्शन गरेर टोलीलाई च्याम्पियन बनाए पनि व्यक्तिगत रुपमा कुनै अवार्ड पाइनँ, त्यसले अलिक नमज्जा लागेको थियो’, सावित्रा भन्छिन्, ‘यो पटक त्यसैका लागि संघर्ष गरेको थिएँ, त्यो सफल भयो खुसी लागेको छ।’

यसो भन्दै गर्दा उनी फुटबल टिम गेम भएकाले सबै टोलीको साथका कारण नै यो सम्भव भएको बताउँछिन्।

नेपाल र भारतको लिग अनुभव
नेपालमा र भारतमा लिग खेल्दा कस्तो फरक पाइयो त? सावित्रा भन्छिन्, ‘धेरै नै फरक छ नि, यहाँ ३ वटा विभागीय टोली नै हुन् अरु क्लब त्यस्तो बलियो छैनन् तर त्यहाँ सबै क्लबहरु बलिया रहेछन्।’

सोही कारण खेल पनि निकै प्रतिस्पर्धात्मक भएकाे उनको अनुभव छ। ‘मलाई पनि टोलीमा सेट हुन अलिक समय लाग्यो। १–२ वटा खेलमा अलिक गाह्रो भएको थियो’, उनी भन्छिन्, ‘तर पछि तालमेल मिल्दै गयो। फुटबल भनेको टिम गेम हो, टोलीको कारण नै यो सफलता पाएको हो।’

sa aa 4

सावित्रा र अनिता लामो समयदेखि एपीएफमा आबद्ध छन्। एकै क्लब अनि एउटै राष्ट्रिय टोलीबाट खेलिरहेका उनीहरु पहिलोपटक एकअर्काविरुद्ध मैदान उत्रिएका थिए।

समूह चरणमा गोकुलम समूह बीको विजेता र सेथु समूह 'ए'को उपविजेता बनेपछि सेमिफाइनलमा यिनीहरुको भेट पक्का भएको थियो।

पहिलोपटक एकअर्काविरुद्ध मैदानमा उत्रिँदा केही असहज महसुस दुवैले गरेका रहेछन्। साम्बा भन्छिन्, ‘सेमिफाइनलमा अनिता दिदीसँग खेल्दा कतै बल दिन्छु कि भनेर झुक्किरहेकी थिएँ। तर हामी प्रतिस्पर्धी हौँ भनेर खेलियो।’

प्रतिस्पर्धीको हिसाबमा राम्रो भएको उनको अनुभव छ।

यता अनिता भने खेल सुरु हुनुअघि साम्बालाई भेटेपछि निकै दबाब महसुस भएको सुनाउँछिन्। ‘खेलमा पनि कतै साम्बालाई नै पास दिन्छु कि भन्ने सोचिरहेकी थिएँ’, अनिता भन्छिन्, ‘बाहिर देखाउन सकिनँ तर भित्र धेरै नै गाह्रो भएको थियो।’

sa aa 3

पहिला एउटै क्लबमा थियौं एक जना विदेशी खेलाडीलाई मात्र खेलाउने नियम थियो। यो पटक फरक क्लबमा हँुदा धेरै मौका पाएको अनिताको भनाइ छ।

यसले उनलाई अनुभव पनि धेरै लिने अवसर मिल्यो।

‘यो पटक पनि टोलीलाई च्याम्पियन बनाउने भनेर सोचेकी थिएँ तर त्यो पूरा हुन सकेन’, नेपालखबरसँग उनले भनिन्, ‘सेमिफाइनलसम्म मात्र पुग्यौँ, हाम्रो टोली पहिलेको भन्दा केही कमजोर पनि थियो। सेट प्लेयरहरु बाहिर भएर पनि केही गाह्रो भएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .