नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग भिड्ने भएको छ।
बुधबार समूह चरणका सबै खेल सकिएसँगै प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो।
सेमिफाइनलमा नेपालले समूह बी को उपविजेता युएईसँग खेल्दा समूह ए को उपविजेता हङकङले भने समूह बी को विजेता टोली ओमानसँग खेल्नेछ।
समूह ए बाट नेपाल समूह विजेता र हङकङ समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। समूह बी बाट भने ओमान समूह विजेता र युएई समूह विजेता बन्दै सेमिफाइनल पुगेका छन्।
नेपाल र ओमानले अपराजित टोलीका रुपमा सेमिफाइनल खेल्न लागेका हुन्।
आज भएको खेलमा युएईले कम्बोडियामाथि ९ विकेटको फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो। ओमानले भने कुवेतलाई ४६ रनले हराएको हो।
नेपालले आजै भएको समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै अपराजित रुपमा सेमिफाइनल खेल्न लागेको हो।
समूह ए कै अर्को खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गर्दै नेट रनरेटमा अघि रहँदै सेमिफाइनलमा स्थान पक्का हो।
ओमानसँग पराजित भएसँगै कुवेतको सेमिफाइनल खेल्ने सपनामा भने धक्का पुगेको छ।
सेमिफाइनलमा दुवै खेल शुक्रबार हुनेछ। सेमिफाइनलका विजेताले उपाधिका लागि खेल्दा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।
प्रिमियर कपको विजेताले टी–२० एसिया कपमा स्थान पक्का गर्नेछ।
Shares
प्रतिक्रिया