आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ।
एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)ले शुक्रबार पत्रबार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।
कार्यक्रममा समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरेको हो। एएस एभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रबिन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे।
तीन वर्षपछि पुनः हुन लागेको प्रतियोगितामा १५ कर्पोरेट हाउसले स्पर्धा गर्नेछन्।
सहभागी १५ टोलीलाई चार समुहमा विभाजन गरिएको छ। तीन टोलीमा ४ तथा १ टोलीमा ३ टोली सहभागी हुनेछन्।
समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन्।
समूह ‘सी’ मा सूर्य नेपाल, आईएमई ग्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी छन्।
प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ। प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ।
यस संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने छ। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पुरस्कार पाउनेछन्।
सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको बैंकिक पार्टनर एनआइसी एसिया छ। सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो।
Shares
प्रतिक्रिया