राष्ट्रिय खेलकुद परिषद (राखेप) ले टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्रािष्ट्रय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ।
राखेपको सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा ३ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको छ। समितिका सदस्यमा नायब वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र संजिव ढुंगेल रहेका छन्।
पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता रहेको छ।
नेपालमै पहिलो पटक हुन लागेको यो छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुनेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रबाट समान २–२ पुरुष/महिला गरी १० खेलाडी सहभागी हुने छन्। समान १–१ पुरुष/महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान पक्का गर्नेछन्।
छनोटमा नेपालबाट पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
अर्को छनोट प्रतियोगिता दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि हुनेछ। श्रीलंकामा हुने सो प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ गतेसम्म हुनेछ।
यो छनोटबाट समान ६–६ पुरुष÷महिला खेलाडीले श्रीलंका यात्रा पक्का गर्ने छन्। दुवै छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।
Shares
प्रतिक्रिया