अलराउन्डर दीपेन्द्र सिंह ऐरिको विस्फाेटक ब्याटिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ।
आइसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले विनवाड्र्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेलमा ४ विकेटको जित निकालेको हो।
गएराति भएको अभ्यास खेलमा घरेलु टोली विनवाड्र्सले दिएको १९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी हुँदा भेट्टाएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रनको योगदान दिए। दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन थपे।
सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपका दुई खेल खेल्दैछ।
विनवाड्र्ससँग नेपालले अझै २ अभ्यास खेल खेल्नेछ। दोस्रो अभ्यास खेल बिहीबार हुनेछ। अन्तिम खेल १८ मे मा हुनेछ। त्यसपछि नेपाली टोली १९ मे मा ह्युस्टन जानेछ।
२१ मे देखि टोलीले प्रशिक्षण सुरु गर्नेछ। त्यसपछि टोलीले २२ र २३ मे मा ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्ने तालिका छ।
अभ्यास खेलपछि टोली २५ मे मा डालास जानेछ। जहाँ आइसीसीकै तालिका अनुसार ग्रान्ड प्रेरि मैदानमा विश्वकपअघि २ वार्म अप खेल खेल्नेछ।
Shares
प्रतिक्रिया