आईसीसी टी २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ।
नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दैछ।
खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ। पूजाआजपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसाबले सम्पूर्ण रुपमा राम्रो तयारी गरिरहेको बताए।
उनले नेपालले वेस्ट इण्डिज र अमेरिकामा गरी करिब एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको पनि बताए। सन् २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको उनको भनाइ छ।
‘तयारीको हिसावले हामी राम्रो तयारी गरेका छौँ। टिम एकदम उत्साहित छ। मलाई लाग्छ अब एक महिना दिनको तयारी छ। रिजल्ट राम्रै दिन्छ भन्ने छ। २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ। त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो,’ उनले भने, ‘अहिलेको टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ। खेलाडीहरूले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो। उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ। सब खेलाडी उत्साहित हुनुहुन्छ। टियूकै झल्को दिनेगरी दर्शकहरुको उपस्थिति हुनेछ।’
Shares
प्रतिक्रिया