ad ad

खेल


टी२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित

अनुभवी पाकिस्तानसँग कलिलो अमेरिकाको रोचक भिडन्त
टी२० विश्वकप : सुपर ओभरमा पाकिस्तानविरुद्ध अमेरिकाको सनसनीपूर्ण जित

तस्बिर : आईसीसी


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १:३४, काठमाडौँ

आईसीसी टी२० विश्वकपमा सहआयोजक अमेरिकाले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। 

टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो। 

उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले २० ओभरमा ३ विकेट क्षतिमा १५९ रन नै बनाएपछि खेल टाई भयो।  

अन्ततः सुपर ओभरमा बलियो टोली पाकिस्तानविरुद्ध घरेलु मैदानको फाइदा उठाएको अमेरिकाले सनसनीपूर्ण जित निकाल्न सफल भयो। 

सुपर ओभरमा पाकिस्तानको खराब बलिङ 
दुवै टोलीले समान १५९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। जसमा महम्मद आमिर पहिला बलिङ आक्रमणमा उत्रिए। 

अमेरिकाले सुपर ओभरमा आरोन जोन्स र हरमित सिंहलाई ब्याटिङमा पठाएको थियो। 

आमिरको पहिलो बलमा जोन्सले ४ रन जोडे। त्यसपछि दोस्रो र तेस्रो बलमा जोन्सले २ र १ रन जोडे। चौथो बल आमिरले वाइड फालिदिए। जसमा हरमितले थप १ रन लिए। पुनः चौथो बलमा जोन्सले १ रन जोडे। पाँचौ बल फेरि वाइड हुनपुग्यो। जसमा अमेरिकाले वाइडसहित थप १ रन जोड्यो। त्यसपछिको बलमा जोन्सले २ रन जोडे। 

छैठौँ बल फेरि वाइड भयो। जसमा अमेरिकाले पाकिस्तानको वाइडसहित ३ रन खोस्यो। त्यसपछिको बलमा जोन्स रन आउट भए पनि अमेरिका १ रन थप्न सफल भयो। 

यसरी सुपर ओभरमा पहिला ब्याटिङ गर्दै अमेरिकाले कुल १८ रन जोडेको थियो। 

१९ रनको लक्ष्य पाएको पाकिस्तानका लागि इफ्तिकर र फाखर क्रिजमा आए। यता अमेरिकाले नेत्रावल्करलाई बलिङमा पठायो। पहिलो बल डटबल हुँदा दोस्रो बलमा इफ्तिकरले चौका हाने। तेस्रो बल वाइड हुँदा पाकिस्तानले १ रन थप्यो। त्यसपछिको बलमा अमेरिकाले इफ्तिकरको विकेट लियो। चौथो बल फेरि वाइड हुँदा अर्को बलमा पाकिस्तानले लेगबाई ४ रन बटुल्यो। पाँचौँ बलमा साधव खानले २ रन थपे। 

अब पाकिस्तानलाई १ बलमा ७ रन चाहिएको थियो। जसमा छक्का हानेको भए खेल फेरि अर्को सुपर ओभरमा जाने थियो तर त्यसो भएन। पाकिस्तानले १ रनमात्रै बटुल्न सक्दा अमेरिका सनसनीपूर्ण जित निकाल्न सफल भयो। 

अनुभवी पाकिस्तानसँग कलिलो अमेरिकाको रोचक भिडन्त 
निकै अनुभवी पाकिस्तानविरुद्ध एसोसिएट टोली अमेरिकाले निकालेको जित जारी विश्वकपकै एक रोचक खेल हो। 

अप्ठ्यारो र नयाँ अमेरिकी पिचमा पाकिस्तानी टोलीले आशा गरेअनुसार खेल्न सकेन। टस हारेर सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि पाँच खेलाडीले दोहोरो रन बनाए। 

कप्तान बाबर आजमले ४३ बलमा ४४ र साधव खानले २५ बलमा बनाएको ४० रन नै पाकिस्तानी इनिङको सर्वाधिक रन भयो। उनीहरुबाहेक फाखर जमानले ७ बलमा ११, इफ्तिकर अहमदले १४ बलमा १८, शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन बनाए पनि अन्यले कम रन जोड्न सके। महमद रिजवानले ८ बलमा ९, उसमान खानले ३ मा ३, ह्यारिस रौफले ३ मा ३ (नटआउट) बनाए। आजम खान शून्य रनमा डक आउट भए। 

७ विकेट गुमाएको पाकिस्तानले २० ओभरमा १५९ रन बनायो। 

बलिङतर्फ अमेरिकाका नस्थुस केन्जिगीले ३० रन खर्चेर ३ विकेट लिँदा सौरभ नेत्रावल्करले १८ रन दिएर २ विकेट झारे। अलि खान र जसदीप सिंहले समान १ विकेट लिँदा हरमित सिंह र कोरी एन्डरसनले विकेट लिन सकेनन्। 

१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले राम्रो सुरुवात गर्यो। अमेरिकी कप्तान मोनांक पटेलले ३८ बलमा अर्धशतक बनाउँदा आरोन जोन्सले ३६, एन्ड्रिज गाउसले ३५, स्टिभन टेलरले १२, नितिश कुमारले १४ रन बनाए। पाकिस्तानले १२ रन उपहार दिएको थियो। मात्र ३ विकेट क्षतिमा अमेरिका म्याच टाई गर्न सफल भएको थियो। 

पाकिस्तानका लागि महम्मद आमिर, नसिम शाह र ह्यारिस रौफले समान १ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .