ad ad

खेल


पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित, ग्रुप ‘ए’को शीर्षस्थानमा उक्लियो

पाकिस्तानविरुद्ध भारतको रोमाञ्चक जित, ग्रुप ‘ए’को शीर्षस्थानमा उक्लियो

जितपछि भारतीय खेलाडी। तस्बिर : ईएसपीएन क्रिक इन्फो


नेपालखबर
जेठ २८, २०८१ सोमबार २:१, काठमाडौँ

अमेरिका र वेस्ट इन्डिजमा जारी टी२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ। 

टस हारेर ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितका लागि २० ओभरमा १० विकेट गुमाउँदै १२० रनको लक्ष्य दिएको थियो। 

न्युयोर्कमा आइतबार राति भएको खेलमा लक्ष्य पछ्याएको पाकिस्तानले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ११३ रन मात्र जोड्न सक्यो। 

भारतको जितमा जसप्रित बुमराह नायक भए। उनले १४ रन दिएर पाकिस्तानको ३ विकेट झारे। 

सुध्रिएन पाकिस्तानको ब्याटिङ
यसअघि एसोसियट देश अमेरिकासँग लज्जास्पद हार व्यहोरेको पाकिस्तानका लागि आजको जित महत्त्वपूर्ण थियो। 

सोहीअनुसार उसले उत्कृष्ट बलिङ गर्यो तर ब्याटिङमा चुक्दा सजिलै जित्न सक्ने खेल अन्ततः हार्न पुग्यो। 

पाकिस्तानका लागि महम्मद रिजवानले ३१ रन जोडे पनि जितका लागि पर्याप्त रहेन। उनले ४४ बलमा उक्त रन बनाएर बुमराहको शिकार हुन पुगे।

कप्तान बाबर आजमले १० बलमा १३ रन मात्र बटुले। उसमान खानले १५ बल खेलेर १३ रन मात्र जोड्दा फाखर जमानले ८ बलमा १३ रन नै जोडे। इमाद वासिमले २३ बलमा १५ रन र नसिम साह १० रनमा नटआउट रहे।

साधव खान (४) र इफ्तिकर अहमद (५) तथा नटआउट रहेका शाहिन शाह अफ्रिदी (०) सस्तैमा समेटिँदा भारतले अतिरिक्त ९ रन उपहार दिएको थियो। 

भारतको किफायती बलिङ 
यता सामान्य लक्ष्य पस्किएको भारतले त्यसलाई जोगाउन किफायती बलिङ गर्यो। उसका लागि अर्शदीप, महम्मद सिराज, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान ४ ओभर बलिङ गरे।

बुमराहले ३ विकेट झार्दा हार्दिकले २ र अक्षर पटेल तथा अर्शदीप सिंहले समान १ विकेट लिए। बुमराहले मात्र १४ रन खर्चिए। अर्शदीपले सबैभन्दा बढी ३१ रन दिँदा हार्दिकले पनि २४ रन खर्चिए। रवीन्द्र जडेजाले १० रन दिए पनि विकेट लिन सकेनन्। सिराजले पनि १९ रन खर्चिएर विकेट लिन सकेनन्। 

ब्याटिङतर्फ भारतको उत्साहजनक प्रदर्शन भएन। कप्तान रोहित शर्मा १२ बलमा १३ रन जोडेर ह्यारिस रौफको हातबाट क्याचआउट हुनपुगे। विराट कोहली फेरि एकपटक ३ बलमा ४ रनमात्र जोडेर पेभेलियन फर्किँदा ऋषभ पन्तले ३१ बलमा ४२ रनको पारी खेले।

ऋषभको उक्त महत्त्वपूर्ण रनले भारतको जितमा भूमिका खेल्यो। अक्षर पटेल १८ बलमा २० रन जोडेर फर्किएपछि भारतले लगातार विकेट गुमायो। सूर्यकुमार यादव ८ बलमा ७, शिवम् दुवे ९ बलमा ३, हार्दिक पाण्ड्या १२ बलमा ७, जडेजा १ बलमा डकआउट हुनपुगे।

त्यस्तै अर्शदीपले १३ बलमा ९ रन बटुल्दा बुमराह पनि डकआउट हुनपुगे। नटआउट रहेका सिराजले ७ बलमा ७ रन जोड्दा पाकिस्तानबाट भारतले ७ अतिरिक्त रन उपहार पायो। 

नसिम र ह्यारिसको उत्कृष्ट बलिङ 
भारतलाई सस्तैमा अलआउट गराउन पाकिस्तानका नसिम शाह र ह्यारिस रौफले किफायती बलिङ गरे।

उनीहरुले २१ रन खर्चेर समान ३ विकेट झारे। यसबाहेक शाहिन शाह अफ्रिदीले २९ रन खर्चेर १ विकेट लिँदा महम्मद आमिरले पनि २ विकेट लिन सफल भए।

इफ्तिकर अहमद र इमाद वासिमले भने विकेट लिन सकेनन्। 

पाकिस्तानको लगातार दोस्रो हार 
भारतसँगको हारले पाकिस्तानलाई ग्रुपको चौथो स्थानमा धकेलेको छ। सुपर ८ का लागि पाकिस्तान आज जितको खोजीमा थियो। तर लगातार दोस्रो हारले ऊ अंकविहीन छ।

यसअघि पाकिस्तान अमेरिकासँग पनि पराजित भएको थियो। ग्रुप एमा अमेरिका र भारतको समान ४ अंक रहे पनि नेट रनरेटमा भारत पहिलो स्थानमा पुगेको छ। उसको १.४५५ हुँदा अमेरिकाको रनरेट ०.६२५ छ।

२ खेलमा १ जित र १ हार निकालेको क्यानडा २ अंकसहित तेस्रो स्थानमा छ। पाकिस्तान चौथो स्थानमा हुँदा लगातार २ हार भोगेको आयरल्यान्ड पाँचौँ स्थानमा छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .